मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ७ वारांगीमा नेकपा एमालेले चुनाव अघि नै जीतको घोषणा गरेको छ ।
नेकपा एमाले लेटाङको निर्वाचन लक्षित घरदैलो अभियानका क्रमामा साविक वारांगी गाविस हाल लेटाङ नगरपालिका वडा नम्बर ७ मा भएको कार्यक्रममा नेकपा एमालेका उम्मेदवारहरु विजय भइसकेको घोषणा गरिएको हो ।
कार्यक्रममा सहभागी भएका स्थानीयबासीले वडा नम्बर ७ को जनलहर हेर्दा नेकपा एमाले विजयी भइसकेको घोषणा गर्नुपर्ने माग गरेपछि यस्तो घोषणा गरिएको हो ।
घरदैलो पछि भएको कोणसभामा बोल्दै मोरङ क्षेत्र नम्बर १ का सांसद् तथा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य घनश्याम खतिवडाले लेटाङ ७ मा नेकपा एमाले विजय भइसकेको घोषणा गर्नुभयो ।
उहाँले सिंगो लेटाङ नगरपालिकामै प्रमुख, उपप्रमुख लगायत सबै वडामा नेकपा एमाले जितको नजिक रहेको बताउनुभयो । उहाँले अब लेटाङमा २०५४ साल फर्किसकेको बताउनुभयो । कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार भूपेन्द्रकुमार लावती, उपप्रमुख पदका उम्मेदवार कृष्णकुमारी निरौला पोखरेल, वडाध्यक्ष पदका उम्मेदवार खगेन्द्र लिम्बू लगायतका उम्मेदवार तथा सयौंको संख्यामा स्थानीयबासीको उपस्थिति रहेको थियो ।
सो अवसरमा लिम्बू, मगर, तामाङ लगायत जातिका सांस्कृतिक झांकी समेत प्रस्तुत गरिएको थियो । यसपटकको निर्वाचनमा लेटाङ ७ मा दुई तिहाइ भन्दा बढी मत ल्याएर नेकपा एमालेले निर्वाचन जित्ने वडाध्यक्ष पदका उम्मेदवार खगेन्द्र लिम्बूले बताउनुभयो ।
घरदैलो अभियानपछि वारांगी बजारमा भएको कोणसभामा करिव १ हजार जनाको सहभागिता रहेको बताइएको छ । केहि समय अघिसम्म लेटाङ नगरपालिकाकै सबैभन्दा बढी नेकपा माओवादी केन्द्रको उपस्थिति रहेको यसा वडामा सम्पूर्ण टीम नै नेकपा एमालेमा प्रवेश गरेको थियो भने नेपाली कांग्रेसबाट विजयी वडासदस्य पनि एमालेमा प्रवेश गरेका थिए ।


