इटहरी/ आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ठाउँठाउँमा चुनावी सरगर्मी पनि उत्तिकै बढ्दो छ । उमेदवारहरू उत्साहका साथ घरदैलो अभियानमा व्यस्त देखिन्छन् । आगामी ५ वर्षको लागी नेतृत्व छनोट सम्बन्धमा जनता पनि उत्तिकै उत्साहित भएको महसुस गर्न सकिन्छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ८ को कुरा गर्नुपर्दा लोकप्रिय व्यक्तित्वको रुपमा परिचित युवा नेता अरुण कुमार चौधरीको उमेदवारीले वडावासी झनै हर्षित छन ।
नेकपा एमालेका तर्फबाट इटहरी उपमहानगरपालिका वडा नम्बर ८ का लागि अध्यक्ष पदका उम्मेदवार अरुण कुमार चौधरीको टिम वडावासीहरूको घर – घरमा पुगेर आर्शिवाद लिदै चुनाव चिन्ह सूर्यमा मतदान गरी उम्मेदवारहरूलाई बिजयी बनाउन अनुरोध गरेका छन् । चौधरीले निर्वाचित भएर आएमा वडामा शिक्षा, स्वास्थ्य रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजनाको साथ आफ्नो उम्मेदवारी दिएको बताए । सरस्वती उच्च मावि, सेतो गुराँसजस्ता विद्यालयहरूलाई प्रत्येक वर्ष ६ लाख रुपैयाँ अनुदान दिने, ७५ जना मजदुर पहिचान गरी प्रत्येक वर्ष दुई लाख बराबरको निःशुल्क स्वास्थ्य विमा,महिला स्वरोजगारको सुनिश्चितता लगायतका कार्यहरूमा जोड दिने चौधरीले बताए । साथै उनले संघीय सरकारबाट आफ्नो पहलमा १ करोड ५० लाख बराबरको रकम वडामा ल्याइ त्यसलाई डुबान नियन्त्रणका लागी उपयोग गर्ने बताए ।
इटहरी ८ नम्बर वडामा रहेका मुख्य पर्यटकीय क्षेत्रलाई देशव्यापी रुपमा चिनाउन र त्यसको मर्मतका लागी वर्षेनि बजेट छुट्याएर आकर्षण बनाउने , निम्न वर्गीय र आर्थिक अवस्था कमजोर भएका हरूको लागी शिक्षा स्वास्थ्यमा सहुलियत रुपमा समान पहुँचमा ल्याउने , सुकुम्बासी समस्यालाई समस्या नभएर समाधान तर्फ अगाडि बढाउने , कृषिलाई व्यवसायिक र आम्दानीमूलक बनाउनेमा आफ्नो भूमिका रहने उनले बताएका छन् ।
त्यस्तै गरि चौधरीको प्यानलमा महिला सदस्यमा दिपा राई, दलित महिला तर्फ सिता हरिजन , खुल्ला सदस्यमा विनोद चौधरी , त्यस्तै खुल्ला सदस्यमै रुद्रराज शर्मा रहेका छन् ।


