सुन्दरहरैंचा / जनसंख्या तथा भुगाेलका आधारमा मोरङको सबै भन्दा ठूलो सुन्दरहरैंचा नगरपालिकामा यति बेला स्थानीय तहकाे निर्वाचन नजिकिए सँगै चुनावी सरगर्मी बढेको छ । नेपाली काँग्रेसले शिवप्रसाद ढकाललाई नै पुनः मेयरको उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्रले नवराज चापागाईंलाई उपमेयरको उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्र गठबन्धन गरि संयुक्त रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।साथै गठबन्धन गरेका कारण आफ्नाे पल्ला भारी भएकोले चुनाव जित्ने दाउमा रहेका छन् । यस अघि चापागाईं २०७४ सालको स्थानिय तहकाे निर्वाचनमा समेत उपमेयर पदमा उम्मेदवार बनेर पराजित भएका थिए । अब भने उनी आफ्नाे अस्तित्व जाेगाउँने अठाेटमा छन् । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका चापागाईं यस क्षेत्रका परिचित तथा सक्रिय व्यक्ति समेत हुन् । त्यस्तै नगर प्रमुखको जिम्मेवारीमा विगत ५ बर्षकाे अनुभव समेत बटुलेका शिवप्रसाद ढकाल र सुन्दरहरैंचा उवासका पूर्व अध्यक्ष चापागाईंको पक्षमा यति बेला पल्लाभारी भएको समर्थकहरुको दाबी रहेको बुझिएको छ।समाजमा राम्रो छबि बनाएका दुवै मिलेर उठेपछी निर्वाचन परिणाम सकारात्मक आउनेमा कतिपय विश्वस्त छ्न। नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका चापागाईंले २०७४ सालकाे निर्वाचनमा पार्टीको औषत मत भन्दा पनि धेरै भोट प्राप्त गरेका थिए तर पनि उनी पराजित भएका थिए । यसबेला भने उनी मतदाताकाे मन जितेर विजयी बनी उपप्रमुखकाे पद समालेर नगरकाे हित र विकासका लागि समय खर्चिने धुनमा छन्।

सुन्दरहरैंचामा यस अघि नेपाली काँग्रेसले चुनाव जित्दा नेकपा एमालेले हाराहारी मत प्राप्त गरेको थियो। साथै नेकपा माओवादी तेस्रो स्थानमा थियो । अहिले नेकपा एमाले विभाजन भएको र विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टीको पनि प्रभावकारी उपस्थिति रहेकोले गठबन्धन चुनाव जित्नेमा आशावादी देखिएको छ । सुन्दरहरैंचामा नेकपा एमालेले केदार गुरागाईलाई मेयरको उम्मेदवार बनाएको छ उनी गत स्थानीय तहकाे निर्वाचनमा समेत मेयरकाे उमेदवार बनेर पराजित भएका थिए । नेकपा एमालेकाे उपमेयरमा अकली चाैधरी रहेकी छिन् । नेकपा एमालेले गत स्थानीय तहकाे निर्वाचनमा प्रमुख पद गुमाएकोले अब भने त्याे फिर्ता लिने दाउमा छ । नेकपा एमालेकाे गढ मानिएकाे यस क्षेत्र नेपाली काँग्रेसले गत स्थानीय तहकाे निर्वाचनमा भने प्रमुख पदमा विजयी हासिल गरेको थियाे । नेकाले प्रमुख पदमा विजय हासिल गरे पनि नगरसभाकाे लागि बहुमतकाे विरासत भने नेकपा एमालेले जाेगाएकाे थियाे ।

यहाँ नेपाली काँग्रेसकाे पक्षमा मत जिताउँन चुनावी अभियानका लागि नेका का अगुवा नेता रमेशजंघ रायमाझी , डा. शेखर काेइराला लगायत डाैडथुपमा लागेका छन् । तेसै गरि नेकपा एमालेकाे तर्फबाट नेता भानुभक्त ढकाल , राजकुमार ओझा लगायत आफ्नाे पाटीकाे पक्षमा मत तान्न खुलेर हिडेका छन् ।

१२ वटा वडामा विभाजन भएको सुन्दरहरैंचा नगरपालिकामा करिव ७१ हजार ५ सय ७६ मतदाता रहेकाे सुन्दरहरैंचाका निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए । सुन्दरहरैंचामा विभिन्न पाटी समावेश भएर चुनावी अभियानकाे मैदानमा भिडेका छन् । जसमा ७१ जना वडा अध्यक्ष तथा ११ मेयर र ८ उपमेयरका उमेद्ववारहरुले उमेदवारी दिएका हुन् । जसमा आधा दर्जन भन्दा बढी विभिन्न पाटी र पदका केही उमेदवारहरुले मनाेनयन दर्ता फिर्ता लिएका छन् । स्थानीय तहकाे निर्वाचनका लागि सुन्दरहरैंचामा कसकाे पल्ला भरि हुने हाे ? त्याे भने बैशाख ३० गते पछिकाे प्रतिक्षाकाे घडि बनेकाे छ ।