इटहरी । स्थानीय तहको निर्वाचन आउन तीन दिन मात्र बाँकी हुँदा मतदाताहरु परिचयपत्र कहिले पाइने हो भनेर व्यग्र प्रतिक्षामा छन् । मतदान गर्नको लागि परिचयपत्र आवश्यक हुन्छ । निर्वाचनको तीन दिनअघिसम्म पनि मतदाता परिचयपत्र नपाएका मतदाताहरु अन्योलमा छन् ।
तर जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको अघिल्लो दुई दिनभरी मतदाता परिचयपत्र वितरण गर्ने योजना बनाएको जानकारी दिएको छ । वैशाख २८ र २९ गते परिचयपत्र वितरण गरिने जानकारी दिएको छ । इटहरीका निर्वाचन अधिकृत नारायण रिमालकाअनुसार सम्बन्धीत मतदान केन्द्र र मतदान स्थलबाट मतदाताहरुलाई मतदाता परिचयपत्र वितरण गरिनेछ । मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागज अनिवार्य लिएर आउनुपर्ने उनले जानकारी दिएका छन् ।
ठाउँ हेरेर दुई दिनमा मतदातालाई परिचयपत्र उपलब्ध गराउने उनले जानकारी दिएका छन् । त्यसका लागि वैशाख २७ गतेदेखि नै सम्बन्धीत मतदान केन्द्रमा मतदान अधिकृत सहित कर्मचारी पठाइनेछ । यसका साथै मतपत्र र अन्य मतदान सामग्री पनि कर्मचारीसँगै पठाइने उनले बताए ।


