विराटनगर । स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर–१ का प्रमुख सीमानाका ‘सिल’ गरिएको छ ।
नाका सिल गरिएसँगै भारतबाट नेपाल र नेपालबाट भारततर्फ आउजाउ बन्द भएको छ । मालवाहक सवारीसाधनको आवागमन पनि आज बिहानैबाट बन्द भएको छ ।
प्रशासनले जिल्लाभर मदिराको बिक्री–वितरण, ओसारपसार र प्रयोगमा समेत रोक लगाएको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सूचना प्रकाशन गर्दै जिल्लाका सबै अन्तर्राष्ट्रिय नाकाहरू मंगलबार रातिदेखि शुक्रबार राति १२ बजेसम्म बन्द गरिएको जनाएका छन् ।
यस्तै, विराटनगरको जोगबनी नाका पनि बिहानैदेखि बन्द गरिएको छ । भन्सार क्षेत्र भएर हुने मालवाहक सवारीसाधनको आउजाउ बन्द भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
मोरङको ६३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्रमा २६ वटा नाका छन् । साना नाकाबाट हुने मानिसको आउजाउ समेत पूर्ण रूपमा बन्द भएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी शुक्रबार राति १२ बजेसम्म सीमानाका बन्द गरिएको जनाएको छ ।


