एजेन्सी|  एप्पलले नयाँ फ्ल्यागशिप आईफोन सिरिज प्रायः सेप्टेम्बरमा सार्वजनिक गर्ने गर्छ । यस वर्ष पनि कम्पनीले सोही समय तोकेको थियो । तर, चीनमा कोभिड संक्रमण तीव्र रूपले बढेसँगै कथाले नयाँ मोड लिएको छ ।

आजका मितिसम्म आईफोन १४ सेप्टेम्बर दोस्रो सातामा नै अपेक्षा गरिएको छ । तर, केही प्रतिवेदनले याे सिरिज सार्वजनिक हुन केही ढिलाइ हुनसक्ने अनुमान गरेका छन् । एप्पलले यस वर्ष चारवटा नयाँ आईफोन मोडेल सार्वजनिक गर्नेछ, जसमा आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स छन् ।

प्रतिवेदनमा ढिलो हुने भनिए पनि ठ्याक्कै कहिले सार्वजनिक हाेला भन्ने खुलाइएका छैन । आईफोन १४ सिरिज सार्वजनिक ढिलो हुनुको कारण  उत्पादन निर्माणमा ढिलाइ हुनु रहेको छ । एप्पलका हरेक उत्पादन एसेम्बल हुने चीनमा कोभिडका बिरामी तीव्र गतिले बढिरहेका छन् । यसपछि विभिन्न सहरमा निषेधाज्ञा जारी गरिएकाे छ । परिणामतः चीनमा एप्पलको सामान आपूर्ति निकै प्रभावित बनिरहेकाे छ ।

अर्काेतर्फ सेमिकन्डक्टर अभावले पनि उत्पादनमा ढिलाइ भएकाे प्रतिवेदनले उल्लेख गरिएको छ । यसले गर्दा विगतका वर्षमा मेदेखि जुनसम्ममा मास प्रोडक्सनमा जाने आईफोन यस वर्ष ढिलो हुने अनुमान गरिएको छ । २०२२ मा सार्वजनिक हुने चार आईफोन विभिन्न दुईवटा साइजमा उपलब्ध हुने अनुमान गरिएको छ । त्यसका लागि आईफोन १४ र १४ प्रो ६.१ ईन्च स्क्रिनमा र आईफोन १४ म्याक्स र १४ प्रो म्याक्स ६.७ इन्च स्क्रिनमा उपलब्ध हुनेछन् । यी चारवटै आईफोन ए१६ बायोनिक चिपसेटद्वारा सञ्चालित हुने प्रतिवेदनले उल्लेख गरेका छन् ।