विराटचोकः कपिलवस्तु र दाङका २ स्थानीय तहमा उम्मेद्वारको मृत्यु भएपछि उनीहरुकै आफन्तलाई सो पदको टिकट दिइएको छ । दुवै पालिकामा जेठ ३ गते मात्रै मतदान हुने भएको छ ।

नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेद्वारको मृत्यु भएपछि उनकी बुहारीलाई उम्मेद्वार बनाएको छ । उपप्रमुख पदकी उम्मेद्वार सुभावती कुर्मीको मृत्युपछि उनकी जेठी बुहारी २८ वर्षीया रीताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । सुभावतीको मृत्यु हृदयाघातका कारण भएको थियो ।

उता, नेकपा एमालेले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेद्वारको मृत्यु भएपछि उनका छोरालाई उम्मेद्वार बनाएको छ ।

वडाध्यक्षमा उम्मेद्वारी दिएका निवर्तमान वडा सदस्य लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको छ ।

वडाध्यक्षका उम्मेद्वार लबरु चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मंगलबार राति मृत्यु भएको थियो । ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको बिरामी थिए ।