बिर्तामोड । झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् ।
कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । उनलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको छ ।
कमल–६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका कर्णले एक जना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय पत्र उपलब्ध गराएका थिए ।
सम्बन्धित व्यक्तिले लिन आउनुपर्ने मतदाता परिचय पत्र कर्णले उम्मेदवारलाई नै वितरण गर्न भन्दै उपलब्ध गराएपछि उनलाई कारबाही स्वरुप फिर्ता बोलाएको बताइएको छ ।
यस्तै मादकपदार्थ सेवन गरी मतदानस्थलमा पुगेको आरोपमा झापा गाउँपालिका–६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत कारबाहीमा परेका छन् ।
झापा–६ सरणामतिस्थित जनता मावि मतदान केन्द्र ‘ग’ का सहायक अधिकृत बस्नेतले मादक पदार्थ सेवन गरेर आएको मतदाताको गुनासो पछि उनलाई मतदानस्थलबाट हटाइएको हो ।


