सप्तरी । सप्तरीको डाक्नेश्वर नगरपालिकास्थित मतदानस्थलमा तोडफोडका साथै मतदान अधिकृतमाथि आक्रमण भएको छ।
वडा नम्बर–२ स्थित हरिरबा जनता मावि मतदानस्थलका मतदान अधिकृत विपिन यादवमाथि आक्रमण भएको हो । राजविराजमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
एक जना वृद्धा मतदाताले भनेको चिन्हमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको भन्दै एक समूहले मतदान अधिकृतमाथि आक्रमण र तोडफोड गरेको सप्तरी प्रहरीले जनाएको छ ।
उक्त समूहले मतपेटिका तोडफोडका साथै केही मतपत्र समेत छरपस्ट पारिदिएका थिए।
भारतीय सीमावर्ती क्षेत्रमा पर्ने यो मतदान केन्द्रमा घटनाअघि २ हजारभन्दा बढी मत खसिसकेको थियो। घटनापछि मतदान स्थगित भएको छ भने पुनः मतदानका लागि तयारी भइरहेको जनाइएको छ ।


