स्थानीय निर्वाचन, २०७९ अन्तर्गत कैलालीका सबै पालिकामा मतगणना जारी छ ।

कैलालीको गोदावरी नगरपालिकाको प्रारम्भिक मतगणनामा प्रमुख पदमा गठबन्धनका साझा उम्मेदवारले अग्रता लिएका छन् ।मतगणनास्थलमा रहेका काङ्ग्रेसका प्रदेश कोषाध्यक्ष उत्तमबहादुर कठायतका अनुसार बिहान ९ बजेसम्म ३०० मतको गणनामा प्रमुख पदमा गठबन्धनका उम्मेदवार काङ्ग्रेसका वीरेन्द्र भट्टले २०४ मत प्राप्त गरेका छन् ।

उनलाई एमालेका गोकर्ण भट्टले १२६ मतका साथ पछ्याइरहेका छन् । उपप्रमुख पदमा भने एमालेका उम्मेदवार अगाडि छन् । ३०० मतगणनामा ११५ मत बदर भएपछि गठबन्धनका साझा उम्मेदवार पछाडि परेका छन् । गोदावरीमा ६७ प्रतिशत मतदान भएको थियो । 

कैलालीकै बर्दगोरिया गाउँपालिकामा राति १ बजेदेखि मतगणना सुरु भएको थियो । प्रारम्भिक मतगणना अनुसार अध्यक्षमा एमाले र गठबन्धन तथा उपाध्यक्षमा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

मतगणनास्थलमा रहेका पत्रकार लीलाजङ्ग शाहीका अनुसार बर्दगोरियामा ६९ प्रतिशत मत खसेको थियो ।  

टीकापुर नगरपालिकामा वडा नम्बर ५ बाट मत गणना सुरु भएको छ । पत्रकार दुर्गा देवकोटाका अनुसार टीकापुरमा बिहान ८ बजेदेखि मतगणना कार्य सुरु भएको हो । टीकापुरमा ५९ प्रतिशत मत खसेको थियो । 

टीकापुरमा हाल जेल जीवन बिताइरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीकी श्रीमतीको नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेकपा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

२०७२ साल भदौ ७ को चर्चित टीकापुर घटनाको मुख्य योजनाकार रहेको भन्दै अदालतबाट आजीवन काराबासको सजाय पाएका रेशमलालकी श्रीमतीको नेतृत्वमा ६ महिनाअघि मात्रै सो पार्टी गठन भएको थियो । 

कैलालीकै कैलारी गाउँपालिकामा बिहानदेखि मतगणना कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार राजसमझ चौधरीका अनुसार १०० मत गणना हुँदा राप्रपाले ३१, काङ्ग्रेसले २८ तथा माओवादी केन्द्रका उम्मेदवारले २० मत प्राप्त गरेका छन् । 

कैलारी गाउँपालिका अध्यक्षमा गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रका लाजुराम चौधरी उम्मेदवार भए पनि काङ्ग्रेसको टिकटमा राजसमझले उम्मेदवारी दिएका थिए ।

काङ्ग्रेसले उनको उम्मेदवारी निस्क्रिय बनाएको निर्वाचन आयोगलाई लिखित जानकारी दिएकामा नाम गलत उल्लेख भएका कारण उनको उम्मेदवारी कायम थियो । 

भजनी नगरपालिकामा मतगणना कार्य सुरु गर्न बिहान ९ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ । 

पत्रकार जय बुढाका अनुसार भजनी नगरपालिका प्रमुखमा रेशमलाल पत्नीको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । 

कैलालीकै गौरीगङ्गा नगरपालिकामा मतगणना प्रक्रिया अघि बढाइएको छ । गौरीगङ्गा नगर काङ्ग्रेस सभापति पहल चन्दका अनुरार ६५ प्रतिशत मत खसेको छ ।