इटहरीः लौरो चुनाव चिह्न लिएर धरान उपमहानगरपालिकाको बागडोर आफ्नो पक्षमा पर्ने सपना देखेर हर्क साङपाङ चुनावमा होमिए ।
धरानको मेयरमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्ने विषयको चासाे हुदा साङपाङले स्वतन्त्र उम्मेदवारी दिए । पछि निर्वाचन आयोगले उनलाई लौरो चुनाव चिह्न दियो ।
गत वैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचन २०७९ को मतदान सम्पन्न भएर अहिले मतगणना भइरहदा । पछिल्लो मतपरिणाम अनुसार धरानको मेयरमा साङपाङले नै अग्रता ’ लिरहेका छन् ।
४ दलीय गठबन्धको तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राई दोस्रो स्थानमा छन् । यता साढे दशकदेखि धरानको बागडोर सम्हाल्दै आएको नेकपा (एमाले) तेस्रो स्थानमा छ । निर्वमान उपमेयरसमेत रहेकी एमालेकी मेयर पदकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले एमालेको विरासत नथेग्ने लगभग पक्का जस्तै छ । स्वतन्त्र उम्मेदवार र काँग्रेसका राई विच कडा प्रतिस्पर्धा छ । जसले गर्दा अहिले नै कसले धरानको बागडोर सम्हाल्ला भनेर भन्न सकिने अवस्था छैन । यद्यपी स्वतन्त्र उम्मेदवारप्रति धरानमा आएको यो उभार निक्कै अनपेक्षीत छ ।
सायदै धेरैले सोचेका थिए, कोही स्वतन्त्र उम्मेदवार आएर यस्तो हलचल मचाउला भनेर । तर, धेरैको कल्पनाको गर्भमा ‘भ्रुण’सम्म नपलाएको कुरा स्वतन्त्र उम्मेदवार साङपाङले वास्तविकतामा परिणत गर्दैछन् । धेरैले, राजनैतिक पार्टीले धराने जनताको माग पुरा नगरेकाले स्वन्त्रमा विश्वास बढेको अड्कलबाजी गरिरहेका छन् । अनि, धराने जनताको पनि सोहि प्रतिक्रिया छ । उनिहरुको मात्रै होइन्, स्वतन्त्र उम्मेदवार साङपाङको पनि आँकलन र विश्वास त्यहि छ । वर्षौँदेखि पार्टीले जनभावनालाई कुठाराघात गरेकाले आफूमा विश्वास बढेको उनको भनाइ छ ।
‘दलहरुले जनताको चाहना, आवश्यकत्ता र भावनलाई नसमेटेको कारणले गर्दा र जनताको अपेक्षाअनुसारको काम गर्न नसकेकाले गर्दा दलहरु विस्तारै–विस्तारै अलोकप्रीय हुँदै जाँदा देशभर स्वतन्त्र उम्मेदवार बढीरहेको छ’, उनले भने । देशभर नै जनतामा दलहरु अलोकप्रीय र स्वतन्त्रहरु लोकप्रीय बन्दै जाँदा आफू पनि सोहि अभियानमा होमिएको उनको भनाइ छ ।
यसअघिका जनप्रतिनिधि र पार्टीगत रुपमा उम्मेदवारी दिनेहरुले सपना ठूलो देखाए पनि सिन्को भचाइँ काम गर्न नसकेको उनि बताउँछन् । आफू त्यहि धराने जनताका स–सान आवश्यकताई प्राथमिकतामा राख्दै उम्मेदवार बनेको उनि बताउँछन् ।
‘धरानमा ठूला–ठूला कुरा भन्दा पनि विशेषगरि साना–साना कुरा नै छन्’, उनले भने, ‘अतिआवश्यकका कुराहरु खानेपानी भयो, स्वास्थ्य शिक्षाका कुरा भए, यी सामान्य आवश्यकताका कुरा पनि दलले पुरा गर्न सकेनन् । यी नै कुरा स्वतन्त्रले पुरा गर्छन् भनेर जनताले विश्वास गरेका छन् ।
मेरो पनि त्यसैमा प्राथमिकता रहन्छ ।’ दलका नेताहरुमा जितेर गएपछि हामी जनाताको प्रतिनिधि हौँ भन्न कुरा ख्यालै नगर्ने उनको आरोप छ । उल्टै सरकारलाई दलगत स्वार्थमा प्रयोग गर्ने गरेको दृष्टान्त देखिने गरेको उनि सुनाउँछन् । ‘म त्यहाँ जितेर गएँ भने दलहरुले गर्न नसकेको काम गर्ने छु’, उनले भने, ‘दलहरुले गर्न त सक्नुहुथ्यो होला तर, उहाँहरुले गर्न चाहनु भएन । इच्छा शक्ति उहाँहरुमा रहेन । त्यसैले उहाँहरु इच्छाउन नभएको कुरा, नचाहनुभएको कुरा म गरेर जनताको सेवा गर्छु ।’
धरानमा ३० हजार मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार साङपाङले ८८१८ मत पाएका छन् । गत वैशाख ३१ गते शनिबारदेखि बुधबार दिउँसो १ बजेसम्म दोस्रो स्थानमा रहेका साङपाङले दिउँसो पछि छलाङ मारे । उनले पहिलो पटक १४ मतले अग्रता कायम गरे । त्यसपछि १९१ मत र अहिले १४० मतले अग्रता कायम गरिरहेका छन् ।


