इटहरी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण लगत्तै मेयर र उपमेयरले ५ बुँदे महत्त्वपूर्ण निर्णय गरे । त्यसमध्ये एक थियो, इटहरीका सम्पूर्ण वडा स्वास्थ्य चौकीबाट बिमाको रिफर दिने । उक्त निर्णयमा मेयर हेमकर्ण पौडेलले हस्ताक्षर गरे पनि उपमेयर सङ्गीता कुमारी चौधरीले भने मानिनन्। उपमेयर चौधरीले कुनै बहाना बनाएर हस्ताक्षर गर्न नमानेकी भने हैन । 

उनले स्वास्थ्य चौकीबाट रेफर दिन भौतिक संरचना मात्रै भएर नहुने भन्दै हस्ताक्षर गर्न नमानेकी हुन् । यो निर्णयमा हस्ताक्षर गर्नु अघि सम्बन्धित क्षेत्रका पदाधिकारीसँग उनले परामर्श गरेकी थिइन् । उक्त पदाधिकारीले स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गर्नु पर्ने, मेडिकल अफिसर सरहको जनशक्ति हुनु पर्ने जस्ता प्रावधान भएकाले अहिले इटहरीका सबै स्वास्थ्य चौकीमा सो सेवा सुचारु नभएकाले रेफर गर्न नमिल्ने बताएका थिए । 

तर मेयर पौडेलले जबरजस्ती जसरी पनि कार्यान्वयन गर्नु पर्छ भन्दै अडान लिएपछि हस्ताक्षर नगरेको उपमेयर चौधरीले बताएकी छिन् । ‘म जनताको सेवामा खटिन आएको हुँ, म उहाँहरूको समस्यामा जानकार छु ।’ उनले भनिन् ‘तर गर्न नसक्ने, र मापदण्ड नपुगेको अवस्थामा जनतालाई भ्रममा पार्न सस्तो निर्णयको पछि लाग्दिन ।’ उपमेयर चौधरीले अन्य चार निर्णयमा सहमति भए पनि बिमाबारे स्पष्ट मापदण्ड बाहेक आफुँ स्वीकृत नगर्ने बताइन् । प्रक्रिया पुगेको र बिमा समितिले स्वीकृत गर्न तयार भए आफुँ पनि तयार रहेको चौधरीले जोड दिइन् । 

के भन्छ बिमा समिति ?

राष्ट्रिय बिमा समिति प्रदेश १ का सूचना अधिकारी महेश पोख्रेल यो हुनै नसक्ने बताउँछन् । भौतिक संरचना तयार भए पनि दक्ष जनशक्ति नभई सो सेवा दिन बिमा समिति नसक्ने उनको भनाई छ । अहिले इटहरी नगर अस्पतालले जुन सेवा दिई रहेको छ, सो सेवा नै वडाबाट पाउने व्यवस्था नहुन्जेल स्वास्थ्य चौकीबाट रेफर लिएर अन्यत्र अस्पताल जान नमिल्ने उनले प्रष्ट पारे ।

अहिले धेरै अस्पतालले आफ्नै नगर अस्पतालबाट उच्च स्तरीय सेवा दिइरहेका छन् । त्यहाँ कर्मचारीले राम्रो सेवा दिई रहेका छन् । पोख्रेलले भने ‘इटहरी अस्पतालमा पनि धेरै दक्ष कर्मचारी राख्नु पर्यो । उपमहानगरले सेवा सुविधा थप गर्दिनु पर्यो । जटिल प्रकृतिका बिरामीलाई मात्रै ठुला अस्पताल रेफर गर्ने व्यवस्था मिलाउनु पर्यो ।’ उनले अझ, थपे वराहक्षेत्र नगर अस्पताल, दमक नगर अस्पतालले राम्रो सेवा दिई रहेको छ । त्यस ठाउँको अवलोकन गर्ने अनि आफ्नो नगर अस्पताललाई सुधार गर्ने समेत सुझाव दिएका छन् ।