पारस सुवेदी, इटहरी । झन्डै पाँच वर्षअघि आएको बाढीले इटहरी उपमहानगरपालिकाका चारवटा वडा तहसनहस पारि दिएको थियो । त्यो बेलाको पीडा भुल्न नसकेको बेला फेरि २०७८ कात्र्तिक २ गते आएको बेमौसमी वर्षाले इटहरीमा ठूलै धनजनको क्षती ग¥यो ।

बाढी पीडितले अघिल्लोपटक (२०७४ सालमा) निर्वाचित जनप्रतिनिधीसँग आफ्ना समस्या पूरा हुने आशा गरेका थिए । तर, आशा गर्दागर्दै समय वित्यो । फेरि बैशाख ३० गते स्थानीय निकायको चुनाब भएर नयाँ जनप्रतिनिधी छानेर पदभार पनि ग्रहण गरि सकेका छन् । अबको जनप्रतिनिधीसँग बाढीपीडितको एउटै माग छ, ‘तटबन्ध निर्माण ।’

वैशाख ३० गते भएको निर्वाचनमा इटहरीका सवै राजनीतिक दलहरुका उम्मेदवारहरुले बाढी पीडितको समस्या समाधान गर्ने संकल्प गर्दै घर घरमा मत माग्न पुगेका थिए । स्थानीयबासीले आफ्ना समस्या समाधान गर्ने संकल्प गर्नेमध्ये पूरा गर्ने विश्वासिलो व्यक्तिको खोजी गरेर मतदान गरि जिताएर पदभार ग्रहण गरि सकेका छन् ।

स्थानीय बाढी पीडितले एकै दलले मात्र माग पूरा नगर्ने आशामा मेयरमा नेपाली काँग्रेसका उम्मेदवार र वडामा एमालेका उम्मेदवारलाई जिताएको वडा नं. १० का बाढी पीडित डिल्लीशेर राईले बताए । ‘जनता अब लाटा छैनन्, यसपटक हामीले वडामा एमालेलाई मेयरमा काँग्रेसलाई जिताऔं,’ उनले भने, ‘अब फेरि पाँच वर्ष काम नगर्दा दुवै दलको पत्तासाफ हुन्छ ।’

२०६५ सालदेखि ऐलानी जग्गा ओगटेर बस्न थालेका यस वस्तीमा बग्रेल्ती घर परिवार छन् । बर्खा लाग्नासाथ यहाँका बासीन्दा त्राहीमाम हुने गरेका छन् । इटहरीको वडा नं. ३, ४, ९ र १० को बुढी खोला नदीको तटीय क्षेत्रमा बसोबास गर्नेलाई हरेक राजनीतिक दलले भोट बैंकको रुपमा प्रयोग गर्ने गर्छन् । बाढी पीडितका अरु ठूला माग केही नभएर तटबन्ध निर्माण गरि दिए पुग्ने अर्की वडा नं. १० कै पीडित मित्रदेवी कार्कीले बताइन् । ‘अघिल्लोपटकको बाढीबाट त धन्न बाँच्यौं, अब सधैंभरी बाढीकै त्रासमा बस्न नपरोस् । हामी सवै बाढी पीडितको एउटै माग छ, वस्तीमा बाढी नपसोस्, खोलामा बेलैमा तटबन्ध होस् ।’

इटहरीमा २०७४ साउन २७ गते राति आएको बाढीले इटहरी वडा नं. ३, ४, ९ र १० मा तहसनहस पारेको थियो । नदीमा आएको बाढीले इटहरी क्षेत्रमा मात्र नौं जनाको मृत्यु समेत भएको थियो ।

पछिल्लो कात्र्तिक पहिलो साता आएको वेमौसमी बाढीले पनि सवैभन्दा बढी बाढीले इटहरी क्षेत्रमा क्षती गरियो । जसमा बाढीले वगाउँदा चार जनाको मृत्यु हुन पुगेको थियो । चार वर्षअघि आएको बाढी पीडित सय घर परिवारलाई ऐलानी वा सरकारी जग्गा खोजी गरेर व्यवस्थित कार्यपालिकाको निर्णय पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । अब नयाँ जनप्रतिनिधी निर्वाचित भएर आएपछि आशा जागेको वडा नं. ९ की ६३ वर्षीया गीता राईले बताइन् । ‘यसपटक चुनाबमा जित्नेले बेलैमा बाढी पीडितको समस्या समाधान गरि दिए अरु हामीलाई केही चाँहिदैन,’ उनले भनिन् ।

इटहरीमा वर्षेनी आकाशबाट परेको पानीको निकास नहुँदा वस्तीका घरहरुमा पानी प्रवेश गरेर क्षती गर्ने गरेको छ । अर्कातिर अविरल रुपमा परेको वर्षासँगै आएको बाढी बुढी र टेङ्ग्रा खोलाको पानी ओभरफ्लो भएर वस्तीमा प्रवेश गर्ने गरेको छ।

इटहरीमा खोला कटान तथा डुबान नियन्त्रण सम्वन्धि कुनै पनि काम नभएको भने होइन । वर्षेनी मोटो रकम खर्च हुने गरेको छ । तरपनि परिणममुखी नतिजा भने आउन सकेको छैन् ।

यहाँका सवै राजनीतिक दलहरुले इटहरी नगरलाई बाढी तथा डुबानको जोखिमबाट मुक्त गर्न नगर क्षेत्र भएर बग्ने शेरा र टेङ्ग्रा खोलालाई स्थायी रुपमा डाइसर्भन गरि व्यवस्थित गर्ने पनि उल्लेख गर्छन् । तर, अहिलेसम्म ठोस काम भने हुन सकेको छैन, जसले गर्दा पनि यसपटक निर्वाचित जनप्रतिनिधीहरुबाट भने स्थानीय बासीले आफ्ना माग पूरा हुने आशा गरेका छन् ।