एक वर्ष भित्रमा एम्बुलेन्स खरिद गरी जनतालाई सेवा दिने सुन्दरहरैँचा नगरपालिका ३ का वडा अध्यक्ष विदुर प्रसाद ढुङ्गानाले बताएका छन् । आज कोशी प्रेससँग कुराकानी गर्दै उनले जनतालाई सेवा दिने विषयमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले विभिन्न संघसंस्थासगँ समन्वय गरेर एम्बुलेन्स खरिद गरी वडावासीलाई  ५० प्रतिशत छुटको व्यवस्था गर्ने समेत तयारी भई हरेको जानकारी दिए । 
               घरघरमा सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवाको सुरुवात गर्न लागिएको वडा अध्यक्ष ढुङ्गानाले बताए । यस अघिका जनप्रतिनिधिले गर्न बाँकी राखेका पुराना योजनालाई समेत उनले निरन्तरता दिने बताए । वडा अध्यक्ष ढुङ्गानाले फरक प्रसङ्गमा गछिया खोलाबाट उत्खनन हुने नदीजन्य पदार्थको ४०  प्रतिशत वडा कार्यालयलाई छुट्याउन समेत उनले नगरपालिका समक्ष आग्रह गर्ने बताए ।
 खोला नियन्त्रणका लागि ४० प्रतिशत रकम वडा कार्यालयलाई दिनु पर्छ हैन भने खोला नियन्त्रणमा उक्त रकम खर्च गर्नु पर्छ ।’ उनले भने ‘खोला नियन्त्रणमा त्यहाँबाट हुने आम्दानीको ४० प्रतिशत खर्च गरे डुबान र कटानको समस्या हल हुन्छ ।’ 
साथै उनले वडा कार्यालयले गर्न बाँकी धेरै रहेको भन्दै स्वास्थ्य, शिक्षा, रोजगार तथा विकास निर्माणको काममा आफुँले सक्ने विकास गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।