इटहरी । कोभिडको महामारीबाट तंग्रिन नपाउँदै विश्वमै छाएको आर्थिक मन्दी । नेपालका धेरै बैंक तथा वित्तीय संस्थाहरु तरलताको अभाव भोगिरहेका छन् । धेरै संस्थाहरुले ग्राहकले मागेको समयमा बचत फिर्ता दिन सकिरहेका छैनन् ।
तर इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाले भने आफ्नो संस्थागत वित्तीय अवस्थालाई भने व्यवस्थित बनाएको छ । सहकारीले किस्ता संकलन र ऋण परिचालनलाई चुस्त बनाएको हो । महिला बचत सहकारीसँग आर्थिक कारोबार गर्दा कहिल्यै समस्याको सामना गर्नु नपरेको सदस्यहरु बताउँछन् ।
‘तीन महिना अघि मात्रै पनि ऋण लिएँ, व्यवशाय सञ्चालनको लागि निकै सजिलो भयो,’ इटहरीका भीम कार्की भन्छन्, ‘लामो समयदेखि कारोबार गरिरहेको छु, अहिलेसम्म समस्या कहिल्यै आएको छैन ।’
यस्तै इटहरीका राजकुमार बाँस्तोला पनि महिला बचतले नीति नियमअनुसार व्यवस्थित तवरले काम गर्ने भएकोले अहिलेसम्म सदस्यहरुको विश्वास कायम राखेको बताए । उनले आफूलाई आवश्यक परेको समयमा पैसा राख्न र झिक्न सहज भएको बताए ।
‘सहकारी र शेयर सदस्यहरु सबै जिम्मेवार छन्,’ उनले भने, ‘मागेको समयमा बचत फिर्ता र ऋण सहकारीले दिइरहेको छ भने सदस्यहरुले पनि दायित्व सम्झेर किस्ता समयमा तिरिरहेका छन् ।’ उनले ऋणिले पनि ऋण लिँदा धेरै कुरा विचार गर्नुपर्ने बताउँदै सहकारीले पनि सुरक्षित ढंगले ऋण प्रवाह गर्न सके सहकारी र सदस्यहरु कहिल्यै समस्यामा नपर्ने बताए ।
यस्तै सुन्दरहरैंचाका शेयर सदस्य प्रकाश सिग्देलले महिला बचत सहकारीमा बचत जम्मा गर्न, फिर्ता लिन तथा ऋण लिन सजिलो हुने बताए । ‘आर्थिक मन्दी भन्छन्, महामारी भन्छन्, तर सहकारीलाई त्यसले खासै छोएको जस्तो अनुभव गरेको छैन,’ उनले भने, ‘धेरै सहकारीहरुलाई अहिले निकै अफ्ठेरो पारेको छ, तर महिला बचतमा त्यती धेरै समस्या छैन । प्रायः ऋणीहरुले पनि समयमा किस्ता बुझाइरहेका छन् ।’
अर्का शेयर सदस्य जंगबहादुर खड्काले पनि सहकारीले व्यवस्थित तरिकाले सेवा दिइरहेको र कुनै समस्या नभएको बताएका छन् ।
संस्थाकी कलेक्टर नरमाया बस्नेतका अनुसार बजारमा मन्दी छ । बचतकर्ताहरुले बचत केही घटाएका छन् । ‘तर ऋणको किस्ता भने प्रायःले राम्रोसँग तिरिरहनुभएको छ,’ उनले भनिन्, ‘धेरैले एकैपटक नयाँ ऋण लिन खोज्दा ऋण नपाउने समस्या त स्वभाविक नै हो, तर बचत फिर्ता, बचत संकलन, ऋण परिचालन जस्ता कामहरु चलिरहेका छन् ।’
सहकारीले नीति, विधि र पद्धतीबाट सञ्चालन भएकाले शेयर सदस्यहरुको सुविधालाई सक्दो ध्यान दिएको जनाएको छ । बजारको समग्र अवस्थाले केही सामान्य समस्या सृजना गरेतापनि आफूहरुले व्यवस्थित गरिरहेको सहकारीले जनाएको छ ।
‘हामीले बचत तथा ऋण परिचालन, किस्ता संकलनलाई चुस्त बनाएका छौं, त्यसैले आर्थिक रुपमा तरलतामा धेरै समस्या छैन,’ सहकारीकी अध्यक्ष अमृता सुब्बाले भनिन्, ‘कोभिडको समयमा पनि र अहिलेको अवस्थामा पनि सदस्यहरुलाई हामीले सरल तरिकाले सेवा दिइरहेका छौं ।’
संस्थाले आफ्ना सदस्यहरुसँग निरन्तर सुमधुर सम्बन्ध राखेर आर्थिक कारोबारलाई व्यवस्थित सञ्चालन गरिरहेको सुब्बा बताउँछिन् । ९ हजार बढी शेयर सदस्य रहेको सहकारीमा ८ करोडको शेयर पुँजी रहेको छ । झण्डै ५५ करोड रुपैयाको बचत र ५९ करोड बढीको ऋण लगानी छ । ७२ करोड रुपैयाको वासलात छ ।
महिला बचत सहकारी ब्रोन्ज तहको एक्सेस ब्राण्ड प्राप्त गरेको छ । यो तहको एक्सेस ब्राण्ड पाउने सहकारीहरु प्रदेश १ मै न्युन छन् । यो सहकारीले यही असोजमा आफ्नो रजत जयन्ती मनाउँदैछ ।

