सुन्दरहरैचा । प्रदेश १ मा नाइरोबी फ्लाई किराका कारण संक्रमित हुनेको संख्या बढ्दै गएको छ। पूर्वी तराईका मोरङ, सुनसरी र झापामा सातायता संक्रमित बढेका हुन्। प्रदेशको स्वास्थ्य मन्त्रालयकाअनुसार नाइरोबी फ्लाई किराका कारण घाउ भएर उपचारका लागि आउनेको संख्या दैनिक एक सय ५० जनाभन्दा बढी छ।
किराबाट निस्कने कडा खालको एसिडका कारण संक्रमण वा घाउ भएर सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचारका लागि आउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ। त्यो संख्याले पनि किराको संक्रमण तीव्र रूपमा बढेको पुष्टि हुने मन्त्रालयको भनाइ छ।
प्रदेश राजधानी विराटनगरस्थित कोसी अस्पतालका वरिष्ठ चर्म (छाला), यौन तथा कुष्ठ रोग विशेषज्ञ डा. असित घिमिरेले दैनिक १५ जनासम्म उपचारका लागि आउने गरेको जानकारी दिए।
बर्खाको समयमा यसको संक्रमण धेरै हुने जानकारी उनले दिए। अघिल्लो वर्षको तुलनामा केही मात्रामा बिरामी बढेको उनको भनाइ छ। घिमिरेका अनुसार फोहोर गर्दा वा छालामा घर्षण उत्पन्न हुने गरी मडारिँदा किराको शरीरबाट छालालाई जलाउने खालको एसिड निस्कन्छ। त्यो एसिड (अम्लीय पदार्थ)ले छालामा घाउ तथा एलर्जी हुने, जनै खटिराजस्तो घाउ आउने, ठूला दागहरु देखिने, छाला रातो हुने, धेरै पोल्ने लगायतका समस्या आउने उनले बताए। उनका अनुसार उपचारपछि यो संक्रमण बढीमा दुई साताभित्रमा ठीक हुन्छ।
स्वास्थ्य सम्बन्धि गम्भीर समस्या ननिम्तिने भएकाले आत्तिन वा डराउन पर्दैन। तर किराको एसिड बढी फैलिएमा सामान्य ज्वरो आउने, जोर्नी दुख्ने, वान्ता हुनेसम्मका केही समस्या आउनसक्ने डा. घिमिरेको भनाइ छ।
प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले यो किराका कारण संक्रमित भएकाको विवरण सबै अस्पतालसँग माग गरिएको जानकारी दिए।


