विराटनगर । संयुक्त खस क्षेत्री नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने माग गरेको छ । प्रदेशको नामाकरणमा सबैलाई समेट्ने सगरमाथा नामको प्रस्तावसहित मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ ।
किराँत प्रदेश नामाकरण गर्न नसके राजिनामा दिन्छु भन्ने अभिव्यक्ति दिँदै आएका मुख्यमन्त्री राईलाई सगरमाथा नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र दिइएको हो । समितिका प्रदेश अध्यक्ष देशबन्धु कार्कीद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा ‘जातिको आधारबाट नामकरण हुँदा व्यापक अस्तित्व भएकालाई चित्त नबुझ्ने’ विज्ञप्तिमा उल्लेख छ। लोकतन्त्रमा बहुमतको कदर गर्नुपर्ने बताउँदै उनीहरूले विरोधका लागि विरोध धेरै हुने र ठूलो स्वर गर्नेको कुरा सुन्ने प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
जातीय द्वन्द्व निम्त्याउन सक्ने र स्थायी विवाद ल्याउन सक्ने नाम नराख्न आग्रह गर्दै उनीहरूले कतैबाट नियमसंगत ढंगबाट कार्यसम्पादनमा बेथिति गरिए संयुक्त खस क्षेत्री नेपाल विरोधको आवाज बुलन्द गर्न पछि नपर्ने चेतावनी समेत दिएका छन् ।
मुख्यमन्त्री राईले ज्ञापनपत्र बुझेपछि नामाकरण नै गर्न नसक्ने प्रदेश खारेजीसम्मको माग उठिरहेको समयमा हतारमा भन्दा पनि समय लगाएर छलफल गरेर टुंगो लगाउनु राम्रो हुने बताए ।


