तेह्रथुम/ म्याङलुङ नगरपालिकाले नगरपालिकाभित्रका सबै घरधुरीलाई २० युनिट विद्युत महशुल निशुल्क गरेको छ । नगरपालिकाले प्रत्येक घरधुरीमा खपत हुने न्युनतम २० युनिटसम्म विद्युत महशुलको रकम भुक्तानी गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले नेपाल विद्युत प्राधिकरण सँग सम्झौता गरी २०७९ साल श्रावण १ गते देखि पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्युनतम २० युनिट बराबरको न्युनतम महशुल ३० रुपैँया नगरपालिका द्धारा भुक्तानी गरिने नगरप्रमुख संजयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।
तर २० युनिट भन्दा बढी विद्युत खपत गरे घरधुरी आफैले सम्पुर्ण विद्युत महशुल भुक्तानी गर्नु पर्ने नगरप्रमुख तुम्बाहाम्फेले बताउनु भयो ।
नगरपालिका भित्र रहेका कार्यालय, संघ, संस्थाहरुमा भने विद्युत महशुल छुट नरहेको प्रमुख प्रशासकीय अधिकृत गिरिराज भटराईले बताउनुभयो ।
यस्तै नगरपालिका भित्र रहेका ६ वटा समुहले भुक्तानी गर्दै आएको सडक बत्तिको विद्युत महशुल पनि श्रावण १ गते देखि नगरपालिकाले भुक्तानी गर्ने प्रमुख प्रशासकीय अधिकृत भटराईले बताउनुभएको छ ।

