सुनसरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मंसिर ४ गतेदेखि पाँच दलीय गठबन्धन बडारिने दावी गर्नुभएको छ।
अध्यक्ष ओलीले शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पाँच दलीय गठबन्धनले एक वर्षभित्रमै देशलाई कङ्गाल बनाएकोले पनि मंसिर ४ पछि बडारिने बताउनुभएको हो । उहाँले पाँच दलीय गठबन्धनले बेहाल बनाएको मुलुकलाई अब मंसिर ४ गते हुने निर्वाचनबाट सुधार आउने जिकिर गर्नुभयो ।
नेता ओलीले मंसिर ४ गते हुने निर्वाचनले सम्पूर्ण नेपाल र नेपालीलाई विजयी गराउनुका साथै लोकतन्त्रलाई वलियो बनाउने बताउनुभयो । उहाँले चुनाबमार्फत भौगोलिक अखण्डताले पनि हार्ने बताउनुभयो ।
उहाँले एमालेले अबको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउँने र त्यसपछि विकासको समृद्दि अगाडि बढाउने जिकिर गर्नुभयो । उहाँले एमाले सरकारका पालामा ल्याएका र पाँच दलीय गठबन्धनले रोकेका सम्पूर्ण योजनालाई अगाडि बढाउने पनि बताउनुभयो ।
उहाँले चुनाबका लागि एमाले कार्यकर्ता गड्यौलाजस्तो कसैले छुनेवित्तिकै पछाडि सर्ने नभएर मुखमा दात भएजस्तो हुनुपर्ने बताउनुभयो । उहाँले कसैले छोएमा डस्न पनि निर्देशन दिनुभयो ।
एमाले अध्यक्ष ओलीले सुनसरी क्षेत्र नं. ३ मा दुई पटकसम्म सरकारी निकाय लागेर नेतृ भगवती चौधरीलाई निर्वाचनमा हराएको पनि आरोप लगाउनुभयो ।
२०७० सालको संविधानसभाको निर्वाचन र २०७४ सालको प्रतिनिधीसभाको निर्वाचनमा एमाले नेतृ भगवती चौधरी झिनो मतले पराजित हुनुभएको थियो ।


