काठमाडौं । डेंगु संक्रमणबाट २० दिनको अवधिमै देशभर ११ जनाले ज्यान गुमाएका छन् । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २० दिनयता ११ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् ।yjn7निसर्ग अस्पताल कैलालीमा ३५ वर्षीया महिला, कान्तिमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ ।
काठमाडौं उपत्यकामा डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै संख्या ललितपुरमा छ । ललितपुरमा तीन हजार आठ सय तीन र काठमाडौंमा दुई हजार आठ सय आठजनामा डेंगु संक्रमण भएको छ । त्यस्तै, संक्रमणको हिसाबले तेस्रो स्थानमा रहेको मकवानपुरमा एक हजार तीन सय ३१ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार डेंगु संक्रमणबाट सबैभन्दा धेरै उपत्यका प्रभावित बनेको छ । ‘अझै १५ दिन लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ,’ उनले भने, ‘पूरै जिउ छोप्ने गरी कपडा लगाउनुपर्छ ।’ उनले जाडो सुरु भएसँगै लामखुट्टे पनि हराउँदै जाने भए पनि अझै केही दिन लामखुट्टेको टोकाइबाट डराउनु पर्नेछ ।
डेंगुका बिरामीले अस्पताल भरिभराउ
डेंगुका बिरामीले पछिल्लो समय अस्पतालहरू भरिभराउ छन् । सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत यसका बिरामीको चाप बढेको छ ।
यसबाहेक निजी अस्पतालमा पनि उपचारका लागि पुग्ने संक्रमितको संख्या पनि उत्तिकै छ । सिभिल अस्पताल बानेश्वरमा दैनिक दुई सयजना डेंगुका बिरामी उपचारका लागि आउने गरेका छन् । उनीहरूलाई सामान्य उपचारपछि इन्मर्जेन्सीबाट सिटामोल दिएर घर फर्काउने गरिएको छ । गम्भीर लक्षण देखिएकाहरू भर्ना भएर उपतचाररत छनन् ।
हाल सिभिलमा १३ जना डेंगुका बिरामी छन् । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ३० जना भर्ना भएका छन् । चार जनाको आइसियूमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा ३८ जना अस्पताल भर्ना भएका छन् । त्यसमध्ये तीनजनाको आइसियूमा उपचार भइरहेको छ । त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ जना डेंगुका बिरामी भर्ना भएका छन् । दुई जनाको आइसियूमा उपचार भइरहेको छ । वीर अस्पतालमा पनि १७ जना डेंगुका बिरामी भर्ना भएका छन् ।

