इटहरी । सोमवार घटस्थापनासँगै दशैं शुरु भएको छ । अन्य ठूला चाडपर्व पनि नजिकिइरहेका छन् । प्रहरीले चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सतर्कतासहित सुरक्षामा कडाइ शुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी युनिटमा आपराधिक गतिविधि नियन्त्रण तथा निगरानीका लागि १९ बुँदे निर्देशनसहित परिपत्र गरेको छ ।
दशैँ, तिहार र छठपर्वको समयमा हुने उच्छृंखल क्रियाकलाप, राजमार्ग र सहायक मार्गहरुमा हुन सक्ने अवाञ्छित कार्यहरु लगायत विभिन्न आपराधिक गतिविधि नियन्त्रणका लागि निर्देशन दिइएको छ । यस्तै, सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठानहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन पनि प्रहरी युनिटहरुलाई हेडक्वाटरले निर्देशन दिएको छ । अत्यावश्यक उपभोग्य वस्तुहरुको सहज आपूर्ति व्यवस्थाका लागि पनि निगरानी बढाउन भनिएको छ ।
‘चाडपर्वको मौका छोपी उद्योगपति, व्यापारीहरु, राजमार्गमा चल्ने सवारी साधनहरुबाट आर्थिक सहयोगको नाममा जबरजस्ती चन्दा संकलन, चिठ्ठा, उपहार कार्यक्रम जस्ता गतिविधि हुन/गर्न नदिई त्रुटिरहित ढंगबाट सुरक्षा व्यवस्था मिलाउने तथा त्यस्ता किसिमका गतिविधिहरु गर्ने उपर कानून बमोजिम कारबाही गर्ने, परिपत्रमा भनिएको छ– ‘सर्वसाधारणहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट रकम झिक्ने, सरसामान किनमेल गर्ने स्थानहरुमा हुन सक्ने चोरी, लुटपाट, ठगी र डकैती जस्ता घटनाहरु हुन सक्ने स्थानहरुमा निगरानी बढाई सुरक्षा व्यवस्था मिलाउने, बैंक तथा वित्तीय संस्थाहरुका सुरक्षागार्डहरुलाई सुरक्षा विधि र अपनाउनुपर्ने सावधानीका बारेमा अनुशिक्षण दिने, काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना बनाई मुख्य मुख्य स्थान, बैंक, व्यापारिक केन्द्र, बसपार्क, मल तथा सुपरमार्केट, मनोरञ्जनस्थल लगायत चक्रपथ बाहिर हुनसक्ने चोरी, लुटपाट, ठगी र अन्य आपराधिक गतिविधिलाई प्रभावकारी नियन्त्रणको व्यवस्था मिलाउन भनिएको छ ।
यस्तै, बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि जस्ता कार्यहरु हुन नदिने, लामो तथा छोटो दूरीका सवारीले यात्रुसँग बढी भाडा लिनसक्ने, क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता गतिविधिमा रोक लगाउन भनिएको छ ।राजमार्ग तथा सहायक राजमार्गमा चेकजाँचको व्यवस्था गर्न पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । अवैध मदिरा बिक्री वितरण, पटका र आतसबाजी, जुवातासलाई पनि निस्तेज गर्न भनिएको छ ।
सीमा क्षेत्रमा हुने तस्करी, लुटपाट, ठगी र डकैती जस्ता घटनामा सतर्कता बढाउन भनिएको छ । तीनवटै चाडबाडको समयममा सुरक्षा निकायका प्रमुखहरुलाई जिल्ला नछाड्न र सरकारी कार्यालयहरुमा भरपर्दो पालो पहरा मिलाउन निर्देशन छ ।
दशैँमा अधिकांश मान्छे घर छाडेर टीका थाप्न जाने र चोरी हुन सक्ने भएकाले सादा पोशाकमा समेत प्रहरी परिचालन गरी निगरानी तथा प्रहरी गस्ती बढाउन भनिएको छ । यस्तै, हिरासतमा रहेका कैदीबन्दी, थुनुवाहरुले प्रहरी हिरासत कक्षमा आत्महत्या गर्ने सम्भावनालाई मध्यनजर गरी कानूनी रुपमा म्याद थप भएका वा हुने बाहेकलाई हिरासतमा नराख्न पनि हेडक्वाटरको निर्देशन छ ।


