लेटाङ । लोखराबाट राजारानीसम्म जाने पुरानो पैदल मार्गमा निकैपछि चहलपहल देखियो । वर्षौं पुरानो यो गोरेटो बाटोमा वर्षौंपछि मान्छेको लामो ताँती लाग्यो । वर्षौंसम्म सुनसान रहेको यो पुरानो बाटोमा मानिसहरुको ठूलै हल्ली खल्ली सुनियो । के युवा, के महिला, के वृद्ध ? कसैको हातमा कोदाली, कसैको हातमा खन्ती त कसैको हातमा खुकुरी र दाउ । कोही ढुंगा निकाल्ने, कोही माटो सम्याउने त कोही झाडी फाँड्न व्यस्त । निकै उमंंग र उत्साहका साथ उनीहरु स्वतस्फूर्त रुपमा काममा जुटे । लेटाङ नगरपालिकाले लोखराबाट राजारानीसम्म जाने पुरानो पैदल बाटोलाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सकिने भन्दै काम अघि बढाउन स्थानीयबासीलाई प्रस्ताव गरेपछि उनीहरु स्वतस्फूर्त रुपमा जनश्रमदानमा जुटेका हुन् । बिहानैदेखि काममा निस्किएर अपरान्हसम्म करिव डेढ किलोमिटर लामो पैदल मार्गको झाडी सफा गरेर हिंड्न लायक बनाएको स्थानीय तेजकुमार राई बताउनुहुन्छ । स्वत स्फूर्तरुपमा जनश्रमदानमा जुटेका स्थानीयबासीमा थप उत्साह भर्न नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र वडाध्यक्ष विष्णु मगर समेत केहीबेर श्रमदानमा जुट्नुभयो ।
लेटाङ नगरपालिका वडा नम्बर १ स्थित राजारानी सामुदायीक वन उपभोक्ता समूह भीत्र पर्ने उक्त पुरानो गोरेटो बाटो मोटरबाटो निर्माण भएपछि प्रयोग विहीन अवस्थामा थियो । सोही पुरानो बाटोको स्तरोन्नती गरि पर्यटकीय पैदल मार्ग बनाउने नगरको प्रस्ताव अनुशार स्थानीयबासीले काम थालेका हुन् । राजारानी क्षेत्रसम्म पुग्ने मोटर बाटो बनेको भएपनि पछिल्लो समय पैदल यात्राको संकार विकास भएकाले पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले पुरानो पैदल मार्ग मर्मत गरि सञ्चालनमा ल्याउन लागिएको स्थानीय युवा सुजन मगर बताउनुहुन्छ ।
लेटाङ नगरपालिकाको अनुरोधमा स्थानीय राजारानी सामुदायीक वन उपभोक्ता समूह तथा लेटाङ १ को लोखरा, राजारानी, कात्र्तीके लगायत क्षेत्रका वासिन्दाको उल्लेख्य सहभागितामा पदमार्ग सञ्चालनमा ल्याउनका लागि झाडी फाँड्ने काम गरिएको छ । करिव डेढ किलोमिटर उकालो रहेको सो पदमार्गमा निकै सित्तल हावा चल्ने तथा लेटाङ बजार, चारकोशे झाडी लगायत, तराईका उर्लाबारी, पथरी दमक लगायत ठाउँको दृश्यावलोकन समेत गर्न सकिने स्थानीय राजकुमार राईको भनाइ छ । पुरानो पदमार्ग भएकाले झाडी फाँड्ना साथ पदमार्गको रुपमा हिंड्न सकिने अवस्था भएको छ । नगरपालिकाको सानो आग्रहमै स्थानीयबासीले उत्साहपूर्वक पदमार्गको काम अघि बढाएकाले अब नगरपालिकाले त्यसमा आवश्यक सहकार्य गर्ने नगर प्रमुख भूपेन्द्र कुमार लावतीले जानकारी दिनुभयो ।
यस क्षेत्रमा कच्चि सडक निकै अघिदेखि पुगेको भएपनि कालोपत्रे सडक भने बन्ने तयारीमा छ । तरपनि पछिल्लो समय पर्यटकहरु पैदल यात्रातर्फ आकर्षित हुने र स्वास्थ्यलाई समेत फाइदा हुने भएकाले पुरानो बाटोलाई पर्यटकीय पैदल मार्गको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष विष्णुमगरको भनाइ छ । झाडी फाँडेर हिंड्न लायक बनाइएको पैदल मार्गमा ढुंगा विछ्याउने लगायतका सौन्दर्यकरणको काम गरिने उहाँले जानकारी दिनुभयो । यो पदमार्ग सञ्चालमा आएसँगै राजारानी क्षेत्रको पर्यटन विकासमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । यस कार्यमा सवडिभिजन वन कार्यालय लेटाङले समेत आवश्यक सहयोग र सहकार्य गर्ने कार्यालयका रेञ्जर सुरेश कुमार खनालले जानकारी दिनुभयो ।
लेटाङ नगरपालिका वडा नम्बर १ मा पर्ने पर्यटकीय क्षेत्रको रुपमा रहेको राजारानी क्षेत्र धिमाल जातीको ऐतिहासिकस्थलको रुपमा परिचित छ । साथै यहाँ धेरै थरीका सुनाखरी, उन्यू र चारचुरुंगीहरु समेत पाइन्छन् । राजा र रानी नामका २ वटा पोखरी र बीचमा मन्दिर समेत रहेको यो क्षेत्र स्थानीयबासीको धर्मिक आस्थाको केन्द्र समेत हो । साथै यसै क्षेत्रमा लेटाङ नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको अन्तर धार्मिक शान्ति पार्क समेत निर्माण हुँदैछ ।


