धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं ९ ले वडावासीको दुःखमा मानोचामल र समवेदना अभियान सुरु गरेको छ । वडाले आफ्नो वार्षिक कार्यक्रममा आवश्यक बजेट विनियोजन गरी यस्तो अभियानको थालनी गरेको हो । वडाध्यक्ष चित्रकुमार कार्कीले वडावासीको दुःखमा सान्त्वना दिनुका साथै धेरथोर राहत पुगोस् भनेर यस्तो कार्यक्रम सुरु गरिएको बताउनुभयो । “कसैको परलोक यात्रामा हामी दुःखी हुन्छौं र मृतकका परिवारको शोकमा कुनै न कुनै प्रकारले निकटता प्रकट गर्छौं र साथ दिन्छौँ ।” उहाँले भन्नुभयो, “यो हाम्रो परम्परागत संस्कार पनि हो, त्यसलाई वडा कार्यालयले अपनत्व महशुस गरेको हो ।”
वडामा नयाँ जनप्रतिनिधिहरु आएपछि सुरु भएको यस कार्यक्रम अन्तरगत पहिलोपटक स्थानीय भोलामान कटुवालकी श्रीमती नरमाया कटुवालको परिवारलाई समवेदना दिनुका साथै मानोचामलका लागि आर्थिक सहयोग समेत गरिएको छ । वडाअध्यक्ष चित्रकुमार कार्कीसहित जनप्रतिनिधिको टोलीले शोकाकुल परिवारको घरमै पुगेर सहयोगस्वरुप ८ हजार र साथमा समवेदनापत्र प्रदान गरेको छ । जनताको दुःखमा मलम लगाउन सहयोगस्वरूप यो कार्यक्रम वडाले ल्याएको वडा अध्यक्ष कार्कीले बताउनुभयो । नगरपालिकाको आठौं नगर परिषद्बाट विनियोजित रकम मध्ये आ.व. २०७९/८० को मृत्यु संस्कारमा वडाको सहयोग कार्यक्रम अन्तर्गत सो रकम प्रदान गरिएको दलित महिला सदस्य कमला दर्जीले जानकारी दिनुभयो ।


