झापा । चुनाव जित्ने अठोटसहित प्रतिनिधिसभा र प्रदेशसभामा मनोनयन दर्ता गराएका झापाका १५ जनाले आज (बुधबार) आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेमा चार जना राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, एक जना नेकपा (माओवादी केन्द्र) र अरू स्वतन्त्र उम्मेदवार छन् । प्रत्यक्षतर्फका १५ सिटका लागि अब झापामा एक सय ९२ जना चुनावी मैदानमा कायम छन् ।
उम्मेदवारी फिर्ता लिनेमा राप्रपा नेपालका प्रदेश १ सचिव बासुदेव भट्टराई, झापा अध्यक्ष कमल खरेल र माओवादीका मेचीनगर अध्यक्ष राजन चिमरिया रहेको जनाइएको छ । टिकट वितरण प्रक्रियाप्रति चर्को असन्तुष्टि जनाउँदै झापा १ प्रदेशसभा २ मा चिमरियाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
सत्ता गठबन्धन दलको तर्फबाट सो प्रदेश माओवादी केन्द्रको भागमा परेको थियो । पार्टीकै श्यामवीर लिम्बूलाई उम्मेदवार बनाएपछि चिमरिया चिडिएका थिए । उनको उम्मेदवारी फिर्ता गराउन पार्टी केन्द्रीय सचिव राम कार्कीले पहल गरेका थिए । गठबन्धन दल, पार्टी र पार्टी सचिव कार्कीको आग्रहमा चिमरियाले निर्वाचन अधिकृतको कार्यालय आफैँ पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । सचिव कार्कीले पार्टी हित र निर्णयविपरीत काम नगर्न सचेत गराएका थिए ।
उनीहरूसँगै उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधिसभाका सात र प्रदेशसभाका आठ उम्मेदवार छन् । झापा १ बाट राप्रपा नेपालका सन्तराज कार्की, झापा १ को प्रदेश २ बाट स्वतन्त्र उम्मेदवारी दिने गीताप्रसाद अधिकारी, झापा २ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने कमलप्रसाद खरेल, स्वतन्त्र उम्मेदवारी दिने अर्पण बस्नेतले उम्मेदवारी फिर्ता लिए ।
यस्तै, क्षेत्र ४ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने विजयप्रसाद राजवंशीले उम्मेदवारी फिर्ता लिए । झापा ४ मा स्वतन्त्र उम्मेदवारी दिएका खेम नेपाल, ४ को प्रदेश २ मा स्वतन्त्र उम्मेदवारी दिएका भरत श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् ।
सबैभन्दा बढी झापा ५ मा सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई जना तथा ५ को प्रदेश १ मा एक जना र २ मा ४ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापा ५ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने सुलोचना राजवंशी, विष्णुप्रसाद सिग्देल, प्रदेश १ मा स्वतन्त्र उम्मेदवारी दिने इन्द्रबहादुर न्यौपाने, प्रदेश २ मा स्वतन्त्र उम्मेदवारी दिने वेदनिधि गौतम, दीपेन्द्र तिवारी, राजन चापागाईं र राप्रपा नेपालका बासुदेव भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन् ।
झापामा दुई सय सात जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभामा एक सय एक र प्रदेशसभा निर्वाचनका लागि एक सय छ जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा २५ को उपदफा ४ तथा प्रदेशसभा सदस्य २०७४ को दफा २५ को उपदफा‐४ बमोजिम उम्मेदवारी फिर्ता लिनेको नाम उम्मेदवारको सूचीबाट हटाइएको निर्वाचन कार्यालयले जनाएको छ ।


