सुन्दरहरैंचा । सुन्दरहरैचा नगरपालिकाले स्थानीय गछियाखोला किनारमा तटबन्ध सहितको सडक निर्माण गर्ने भएको छ । गछिया बजारको किनारबाट उत्तर गछिया खोलाको पूर्वीतर्फको किनारमा तटबन्धसहितको सडक निर्माण गर्न लागिएको हो। आइतबार नगर प्रमुख केदार प्रसाद गुरागाईं, सुन्दरहरैंचा ७ का वडाध्यक्ष भुवनसिं आलेमगर, इञ्जिनियर विरेन्द्र नेयोहाङ, खड्ग बस्नेत, स्थानीयवासी लगायतको सहभागितामा खोला किनारमा पुगेर सडक निर्माणको फिजिविलिटी अध्ययन गरिएको हो ।
सुरुवाति अध्ययनका क्रममा सडक निर्माण गर्न संभव देखिएकाले तत्काल काम अघि बढाइने नगर प्रमुख केदार प्रसाद गुरागाईंले जानकारी दिनुभयो । प्रारम्भिक अध्ययनका क्रममा तटबन्धनसहितको सो सडक निर्माण गर्नका लागि ५ देखि ६ करोडसम्म लागत लाग्ने देखिएकाले नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसँग समेत पहल गरेर काम सम्पन्न गर्ने योजना रहेको नगर प्रमुख गुरागाईंले जानकारी दिनुभयो । खासगरि गछिया खोलाबाट खोलाजन्य सामाग्री बोकेर हिंड्ने ट्रिपहरुका कारण प्रदुशण बढ्नुका साथै सडक समेत विग्रिएको भन्दै स्थानीय बेलगाछी क्षेत्रका बासिन्दाले गुनासो गरेपछि नगरपालिकाले विकल्प खोज्न लागेको हो । नयाँ सडक निर्माण गर्दा खोलाको तटबन्ध पनि हुने, खोला किनारको बस्तीलाई सडकको पहुँच पनि हुने र अन्य क्षेत्रको सडकमा चाप पनि कम हुने भएकाले यो सडक निर्माणको काम अघि बढाउन लागिएको वडाध्यक्ष भुवनसिं आले मगरले बताउनुभयो । उहाँले अघिल्लो कार्यकालमा नै यो काम अघि बढाउन माग गरिएको भएपनि नेतृत्वले चासो नदिएकाले काम हुन नसकेकोमा यसपटक काम अघि बढाउन लागिएको जानकारी दिनुभयो । करिव २ किलोमिटर लामो हुने सो सडकलाई ग्रीनबेल्टको रुपमा विकास गरि बिचरणस्थल तथा सेल्फी रोडको रुपमा समेत विकास गर्न सकिने उहाँको भनाइ छ ।

