संयुक्त अधिराज्य बेलायतमा भारतीय मूलका ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। संसदको तल्लो सदन हाउस अफ कमन्समा एकल बहुमत रहेको कन्जरभेटिभ पार्टीको नेता चुनिएसँगै ऋषि बेलायती प्रधानमन्त्री बन्ने पक्का भएको हो। बेलायतका राजा चार्ल्सले मंगलबार उनलाई सपथ खुवाउन सक्ने सम्भावना छ।
संसारकै सबैभन्दा पुरानो संसदीय लोकतान्त्रिक मुलुक बेलायतमा गत असारयता तीन जना प्रधानमन्त्री भइसकेका छन्। सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले बाध्य भएर राजीनामा दिएका थिए। भदौ अन्तिम साता बेलायती प्रधानमन्त्री बनेकी लिज ट्रसले ४५ दिनभन्दा बढी पद सम्हाल्न सकिनन्। उनको सरकारले ल्याएको आर्थिक नीतिको पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि उनी राजीनामा दिन बाध्य भइन्।

केही वर्षअघि युरोपियन युनियनबाट बाहिरिएको बेलायतको अर्थतन्त्र अहिले पनि स्थिर छैन। बहुमत पाएको कन्जरभेटिभ पार्टीले प्रधानमन्त्री फेरेको फेर्यै गर्दा विपक्षीहरूले आमनिर्वाचनको माग गरिरहेका छन्। यस्तो बेलामा प्रधानमन्त्री बन्न लागेका ऋषिका लागि आगामी दिन चुनौतीपूर्ण हुने देखिन्छन्। तर सोमबार उनी कन्जरभेटिभ पार्टीको नेता चुनिँदा बेलायतभित्र र बाहिरको माहौल भने उत्साहपूर्ण छ। किनकी ऋषि बेलायतको प्रधानमन्त्री बन्नु आफैंमा एउटा ऐतिहासिक घटना हो। ४२ वर्षको उमेरमै बेलायती प्रधानमन्त्रीको कुर्सीमा बस्न लागेका ऋषिका लागि यो व्यक्तिगत उपलब्धि त हो नै बेलायत र संसारभरिका अरू अल्पसंख्यकका लागि पनि प्रेरणाको स्रोत हो।
ऋषि बेलायतको प्रधानमन्त्री बन्ने भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि संसारका विभिन्न नेताहरूले बधाई दिएका छन्। भारतीयहरूले त पहिला आफूलाई उपनिवेश बनाएको बेलायतमा भारतीय मूलका व्यक्ति प्रधानमन्त्री भए भनेर खुसी मनाइरहेका छन्।

सन् १९८० मा जन्मिएका ऋषिले सात वर्षअघि मात्रै राजनीतिक यात्रा थालेका थिए। ऋषिका हजुरबुबा-हजुरआमा भारतको पञ्जाबबाट पूर्वी अफ्रिका गएका थिए। केन्याबाट उनको परिवार बेलायतको साउथएम्पटोन सरेका थिए।
ऋषिका बुवा बेलायतको स्वास्थ्य सेवामा काम गर्थे भने उनकी आमा फार्मेसिस्ट थिइन्। ऋषिले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति शास्त्र पढेका हुन् भने अमेरिकाकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट एमबिए गरेका छन्।


