इटहरी । नेकपा एमालेकी प्रभावशाली नेतृ भगबती चौधरीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताएकी छिन् । बिहीबार इटहरी वडा नं. १४ मा आयोजित पार्टीका कार्यकर्ताहरुको प्रशिक्षण भेलामा बोल्दै प्रतिनिधिसभा उम्मेदवार चौधरीले अघिल्ला दुई निर्वाचनमा प्रतिपक्षले धाँधली गरेको कार्यकर्ताहरुलाई प्रष्ट्याउँदै फेरी पनि निष्पक्षरुपमा निर्वाचन नभए आफु र नेकपा एमाले कडा रुपमा प्रस्तुत हुने बताइन् । 

यूवा संघ, युथ फोर्स, महिला तथा किसान संघ लगायत सबै नेता कार्यकर्ताहरु जनताले दिएको जनमत रक्षार्थ खटिनुपर्ने बताउँदै कुनैपनि धाँधली र सड्यन्त्र विरुद्ध आफैं अग्रपङ्तीमा उभिने पनि बताइन् । ‘यो पल्टपनि विगतको जस्तै धाँधली र सड्यन्त्र भयो भने म जनताको जनमतको रक्षा गर्न आफैं अगाडी सर्छु,’ नेतृ चौधरीले भनिन् । 

उनले निष्पक्ष निर्वाचन विरुद्ध धाँधली भयो भने पहिलो प्रतिकार आफैंले गर्ने समेत चेतावनी दिएकी छिन् । नेकपा एमाले निष्पक्ष चुनाबको पक्षमा रहेको जनाउँदै कार्यकर्ता र जनवर्गीय संघगठनहरुलाई निष्पक्ष निर्वाचनका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न तयारी रहन पनि भनिन् । 

     सुनसरी क्षेत्र नं.३ संवेदनशील निर्वाचन क्षेत्रका रुपमा रहेको छ । यो क्षेत्रमा कांग्रेस नेता विजयकुमार गच्छदारले पटकपटक धाँधली र सड्यन्त्रले निर्वाचन जितेको आरोप छ । २०७० साल र ०७४ सालको निर्वाचनमा गच्छदारले धाँधली गरेको भन्दै सर्वोच्चमा मुद्दा परेको थियो । विगतका दुई निर्वाचनमा देखिएको परिदृश्य पुनः नदेखियोस भनेर एमाले सुनसरी क्षेत्र नं.३ निर्वाचन परिचालन कमिटी समेत योपल्ट विशेष सावधानी अपनाउँदै धाँधलीका कृयाकलाप विरुद्ध खबरदारीमा जुटेको छ ।