दुहवी : पटक पटक सांसद मन्त्री भएर समेत विकाश गर्न नसकेको सुनसरी क्षेत्र नम्बर ३ का काँग्रेस उम्मेदवार विजयकुमार गच्छदारको आलोचना भएको छ । जनता समाजवादी पार्टी नेपालको सुनसरी ३ को दुहबीमा आयोजित कार्यक्रममा बोल्दै नेताहरूले गच्छदारबाट विकासको आस गर्न नसकिने बताएका हुन् ।

सुनसरी ३ का जसपा अध्यक्ष योगेन्द्र प्रसाद मेहेताले पटक पटक स्थानीयहरूबाट अनुमोदित भएर सांसद मन्त्री भए पनि गच्छदारले विकाशको 'माखो' मार्न नसकेको बताए । जसपाका जिल्ला उपाध्यक्ष हरि शंखर कर्णले सुनसरी भरिनै जसपा र एमालेको तालमेलले चुनाव जित्न सहज रहेको बताए ।

जसपा केन्द्रीय सदस्यहरू क्रमशः भीम राई, हंस साहा, योषा गुरागाईँले एमाले सँग गठबन्धन गर्नुको औचित्यको बारेमा आफ्नो भनाई राखेका थिए । त्यसै गरी, जसपा तर्फबाट दुहबी नगरपालिकाका उपमेयरका प्रत्याशी रहेका सरोजकुमार सिंहले एमालेकी चौधरी चुनाव जित्नेमा आफू ढुक्क रहेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा तर्फ एमाले उम्मेदवार भगवती चौधरी, प्रदेशसभा उमेदवारहरु रोहित कार्की, रामदेव मेहेताको समेत उपस्थिति थियो ।