सुनसरी । मंसिर ४ गतेको निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी क्षेत्र नं. ३ को चुनाबी माहौल गर्मिलो हुँदै गएको छ । नेकपा (एमाले) की प्रभावशाली नेतृ भगबती चौधरीको पक्षमा उत्रिएको जनलहरले योपटक सुनसरी ३ लाल किल्लामय बन्ने निश्चित देखिएको हो ।
विगत ४० वर्षदेखि एकै खाले राजनीतिक नेतृत्व भएकाले विकासको गती सुस्त हुँदा सामाजिक, आर्थिक रुपमा पछि परेको क्षेत्र हो सुनसरी ३ । आर्थिक सवलीकरणका एजेण्डासहित चुनाबी मैदानमा उत्रिएकी एमाले केन्द्रीय सदस्य तथा लघुवित्त अभियानकर्मी भगबती चौधरीलाई मत दिन जनता आतुर रहेको पाइएको छ । इटहरीका विभिन्न वडाहरुको घरदैलोमा नेतृ चौधरी र प्रदेश सभाका उम्मेदवार गइरहँदा आम जनताले भब्य स्वागत गरेका थिए । साथै, कतिपय जनताले विगतको जस्तो धाँधलीयुक्त निर्वाचन हुन नहुनेमा सचेत रहन पनि सुझाए ।
सोमबार चुनाबी घरदैलो कार्यक्रम अन्तरगत इटहरीका वडा नं. ६ र ९ मा पुगेकी चौधरीलाई स्थानीय मतदाताले भब्य स्वागत गरे । वडा नं. ६ को अनामनगरमा आयोजित कोण सभामा बोल्दै नेतृ चौधरीले ३० वर्षदेखिको शासनबाट मुक्त गराउन आफ्नो उम्मेदवारी रहेको बताइन् ।

विगतमा निर्वाचित भएर गएकाले जनताको अपेक्षा र युग सुहाउँदो विकास गर्न नसकेकाले सुनसरी क्षेत्र नं. ३ ओझेलमा परेको बताइन् । इटहरीको बसपार्क व्यवस्थापन, बढ्दो शहरीकरण व्यवस्थापन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु हल गर्दै इटहरीमा राष्ट्रिय तहबाट ठूला योजनाहरु ल्याउन आफुले पहल गर्ने प्रतिबद्धता गरिन् ।
चौधरीले आजै इटहरी ६ कै बसपार्कमा पनि मतदातालाई संवोधन गर्दै इटहरी बसपार्कलाई डिजिटलाइजेसन गर्ने सवालमा काम गर्ने बताइन् । व्यवस्थित वसपार्क बनाउन आफु सक्दो लाग्ने प्रतिबद्धता जनाईन्।
यस्तै, आज नै इटहरी वडा नं. ९ को फुलबारी टोल र लालीगुरास टोल, मरिक टोलमा पनि घरदैलो गरेकी छिन् । त्यसबेला मतदाताले गरेका गुनासा र समस्याहरु सुन्दै आफुले व्यक्तिगत रुपमा समाज र जनताका सवालमा काम गरेपनि समृद्ध समाज निर्माण गर्न राज्यबाट नै काम हुनुपर्ने देखेकोले राजनीतिमा होमिएको बताइन् । ‘म भगबती चौधरीले व्यक्तिगत रुपमा जति गरेपनि त्यसले ठूलो परिवर्तन ल्याउँदो रहेनछ । राज्यबाट नै लगानी र व्यवस्थापन भयो भने परिवर्तन हुँदोरहेछ, मलाई योपटक जिताउनुस म तपाईहरुलाई निराश बनाउँदिन ।’ चौधरीले मतदाताका अगाडी भनिन् ।
नेकपा एमालेले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गरेको र त्यसकै जगमा रहेर साँढे तीन वर्ष काम गर्दा ठूलै उपलब्धीहरु भएको चौधरीले बताइन् । कोभिड महामारीका कारण अर्थतन्त्र खस्कँदा समेत ओली सरकारले विकास निर्माणमा ठूलै काम गरेको उनको भनाई छ ।
यता, मतदाताले चौधरीलाई विगतमा पटकपटक जिताएरै पठाएको स्मरण गर्दै जनमतको सुरक्षा गर्न सजग हुन सुझाए । निष्पक्ष निर्वाचन हुनुपर्ने पक्षमा रहेका जनताले जालझेल र सड्यन्त्र विरुद्ध खबरदारी र सचेत हुन एमालेका नेता कार्यकर्ताहरुलाई आग्रह गर्दा चौधरीले योपटक कुनैपनि प्रकारको धाँधली र सड्यन्त्र हुन नदिने तथा त्यसका विरुद्ध समेत जनताले खबरदारी गर्न जरुरी रहेको बताइन् ।


