इटहरी । इटहरीको बाढी समस्या दीर्घकालिन रुपमा समाधान गर्नको लागि पुराना नाला तथा खोलाहरुको खोजी गर्नुपर्नेमा एमाले नेता रोहित कार्कीले जोड दिएका छन् । 

       उनले पुराना ढल, नाला तथा खोलाहरु अतिक्रमणमा परेकोले इटहरीलाई बाढीले सताउने गरेको बताउँदै उनले त्यस्ता संरचनाहरु खोजेर मर्मत गर्नुपर्ने बताएका हुन् ।

          सुनसरी क्षेत्र नं. ३(क) बाट प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका कार्कीले मास्टर प्लान बनाएर इटहरीको ढल निकासको समस्या समाधान गर्नुपर्ने बताएका छन् । ‘अहिलेसम्म बनाएका नालाहरु, ढलहरुबाट पानी पास हुँदैन,’ न्युजलयसँग कुरा गर्दै उनले भने, ‘मास्टर प्लानसहितको व्यवस्थित ढल निकासको संरचना बनाउन आवश्यक छ ।’

              उनले आफू प्रदेश सभा सदस्यमा निर्वाचित भएमा टेंग्रा खोला र बुढी खोलाको बाढी र ढल निकासलाई पहिलो प्राथमिकता दिने बताउँदै त्यसको लागि एक वर्षको समय पनि नलाग्ने बताएका छन् । ‘दुई महिना बाढीले सताउँदा सबै राहत लिएर आउनुहुन्छ, तर बाँकी १० महिना वास्तै गर्नुहुन्न,’ उनले भने, ‘अब १० महिना योजना बनाएर काम गर्नको लागि लगाउनुपर्छ त्यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय आवश्यक पर्छ ।’

           खनार गाविसका पुर्व प्रधानपञ्च समेत रहेका लोकप्रिय नेता कार्कीले इटहरीको पूर्वाधार निर्माण र उद्योग व्यवशाय विस्तार तथा व्यवस्थापनका लागिसमेत धेरै योजनाहरु रहेको बताएका छन् । ‘म प्रधानपञ्च हुँदा यहाँको शिक्षा, स्वास्थ्य, बाटोघाटो, कार्यालय भवन आदि विभिन्न क्षेत्रमा गरेको कामको बारेमा साबिक खनारका पुराना वासिन्दाले नै वर्णन गरिदिनुहुन्छ,’ उनले भने, ‘अब एक पटक प्रदेश सरकारमा पुगेर म मेरो निर्वाचन क्षेत्रको व्यवस्थित विकासका लागि आफ्नो भूमिका निर्वाह गर्न चाहन्छु ।’