इटहरी । नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ (क) का प्रदेशसभा उम्मेदवार रोहित कार्कीको जन्म २००८ सालमा धनकुटामा भएको हो । उनी ३० वर्षको उमेरबाट राजनितिमा सक्रिय छन् । २०४२ सालमा समाजिक काम गर्ने उद्देश्यले उनी खनारको प्रधानपञ्च बने ।
कार्की २०५२ सालमा खनार गाविसको अध्यक्ष समेत बने । उनले २०६९ सालको संघिय सांसद पदका लागि चुनाव लडे । तर सफल भएनन् । उनलाई विजयकुमार गच्छदारले हराए । उनले २०७४ सालमा इटहरी उपमहानगरपालिकाको मेयरका लागि पनि उम्मेदवारी दिए । तर एमाले र काँग्रेसपछि तेस्रो लोकप्रिय मत ल्याएर पराजित भए ।
कार्कीले आफू प्रधानपञ्च र गाविस अध्यक्ष बनेको समयमा खनारमा महत्वपूर्ण आधारभूत संरचनाको निर्माण गरे । खनारको स्कुल, स्वास्थ्य चौकी, प्रहरी चौकी, तत्कालिन गाविस भवन, जग्गाको व्यवस्थापनको काम, विद्यालयको जग्गा विद्यालयको नाममा पार्ने लगायतका काम गरे ।
२०५१ सालदेखि राप्रपाबाट औपचारिक रुपमा राजनितिक यात्रा थालेका उनले २०७४ सालमा राप्रपा त्यागेर एमालेमा प्रवेश गरे । उनले भने, ’राप्रपाले उठाएको मुद्दाले तत्कालिन जनताले बलिदान त्याग तपस्या गरेर ल्याएको व्यवस्था प्रति प्रश्न चिन्ह खडा गरेकाले बलिदानबाट प्राप्त गरेको जनताको जनआदेशलाई पालना गर्नु राम्रो हुन्छ की भन्ने लागेर राप्रपा छोडेर एमालेमा प्रवेश गरे ।’ कार्कीले पार्टीको निति सिद्धान्तका अनुसार आफूले काम गरिरहेको बताए ।
देशमा परिवर्तन ल्याउनका लागि एमालेले नै जित्नु पर्ने भएकाले आफू पनि निर्वाचनमा उठेको उनले बताए । जसपाले आफूलाई पूर्ण समर्थन गरेको उनले बताए । उनले आफूले आज सम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
यस्तै, उनले निर्वाचनमा विजयी भएमा बाटाघाटा, बाढि, डुबान, टेंग्रा पुलको स्तरोन्नति, उद्योग, विद्यालय सबै क्षेत्रमा प्राथमिक्ताका साथ काम गर्ने बताए । टेंग्रा खोलाको बाढिले बर्षेनी इटहरीका अधिकांश क्षेत्र डुबानमा पर्ने भएकाले यस समस्यालाई पहिलो प्राथमिक्तामा राखेर समाधान गरिने उनले बताए ।


