इटहरी । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले २–१ गोल अन्तरले जित हासिल गरेको थियो ।
फाइनल भीडन्त पक्का गरेको उसले उपाधिका लागि धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा मंगलबार राजारानी र सहलेसबीच प्रतिस्पर्धा हुने छ ।
घरेलु मैदानमा आयोजकको यात्रामा बाधक बनेको एपीएफले दुवै गोल मध्यान्तरपछि गरेको हो । कप्तान टोप विष्ट र नवीन लामाले एपीएफका लागि गोल गरेका थिए । आशिम राईले सान्त्वना गोल गरे ।


