इटहरी । सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदारले प्रचारप्रसारका क्रममा व्यापक रुपमा निर्वाचन आचारसंहिता विपरितका कार्य गरेका छन् । गच्छदारले निर्वाचन आयोगको आचारसंहिता विपरित ठाउँठाउँमा फ्लेक्स व्यानरहरु राखेका छन् ।

गच्छदारले मतदातालाई आकर्षित गर्न आफ्नो फोटो राखेर ठूल्ठूला फ्लेक्सहरु चोक चोकमा झुण्ड्याएका हुन् । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले निर्वाचन आयोगले तोके अनुसारको प्रचार सामग्री प्रयोग गर्नुपर्नेमा गच्छदारले सो विपरित ठूल्ठूला रंगीन फ्लेक्स नै राखेका छन् ।दुहवी नगरपालिका वडा नं। ११ तनमुनाको मुख्य चौकमा गच्छदारले आफ्नो तथा प्रदेश सभा ९१० का उम्मेदवार विन्देश्वर यादवको फोटो सहितको फ्लेक्स राखेका छन् ।

यस्तैगरी उनले तनमुना, सिमरिया, पचिरा लगायत ग्रामिण क्षेत्रमा यस्ता फ्लेक्सहरु राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालन भएको नभएको अनुगमन गर्न कर्मचारीहरु खटाएपनि चौकचौकमा राखिएका यस्ता फ्लेक्सहरुमा आँखा लगाएको छैन ।यस्तै गच्छदारले आचारसंहिता विपरित मन्दिर, मस्जिदमा पनि झण्डा र फ्लेक्स राखेका छन् ।

बालबालिकाहरु पनि प्रयोग गरिएको पाइएको छ । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं। ३ दुहवीका प्रमुख उमाकान्त पौडेलले क्षेत्रमा नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार गरेको जानकारी आएको बताउँदै आज नै सर्वदलीय बैठक बोलाएर त्यस्ता प्रचार सामग्रीहरु १ घण्टा भित्र हटाउन निर्देशन दिने बताए ।पार्टीहरुले आचारसंहिता विपरितका प्रचारसामग्री नहटाए आयोगले प्रहरी लगाएर आफैं हटाउने पनि जनाए ।

‘आचारसंहिता विपरित प्रचारप्रसार भयो, चोक, पसल, मन्दिर, पोलहरुमा झण्डा, व्यानर र फ्लेक्सहरु राखेको थाहा भयो । आज ९शुक्रबार० नै ३ बजे सर्वदलीय बैठक बोलाएको छु । त्यहाँ छलफल गरेर १ घण्टा भित्र हटाउन भन्छु, नहटाए प्रहरी लगाएर भएपनि हटाइनेछ ।’ प्रमुख पौडेलले भने । सुनसरी क्षेत्र नं। ३ मा व्यापक रुपमा आचारसंहिता विपरितका कार्यहरु भइरहेपनि आयोगको खासै ध्यान जान सकेको छैन ।