विराटनगर । विजयकुमार गच्छदारसँग तेस्रो पटक चुनावमा भिड्दै गरेकी भगवती चौधरी सामाजिक क्षेत्रबाट उदाएकी महिला नेतृ हुन् । बर्गीय, क्षेत्रीय र लैँगिक आन्दोलनमा अग्रमोर्चामा रहेकी चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् ।
नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार चौधरीलाई स्थानीयहरुले महिला आन्दोलनको अगुवा र महिलालाई आत्मनिर्भर बनाउने भिजनरी महिलाका रुपमा चिन्ने गर्छन् ।
फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष रहेकी चौधरीले सुनसरीमा मात्र होइन देशका ४० जिल्लाका तीन लाख बढि महिलालाई आत्मनिर्भर बनाउने काममा भुमिका खेलेकी छिन् । आर्थिक अवस्था कमजोर रहेका विपन्नलाई उद्यमी बनाउन प्रशिक्षण दिएर त्यसका आधारमा बिउ पुँजी उपलब्ध गराइ आयआर्जनमा सक्रिय बनाउने अभियान स्वरुप फरवर्ड सुरु गरिएको बताउँदै उनी भन्छिन्, ‘सुनसरीमा मात्र हैन, देशका ४० बढी जिल्लामा फरवर्डले काम गर्दै आएको छ, यो मुलुकको अग्रणी माइक्रोफाइनान्सको रुपमा चिनिन्छ ।’
यस्ता छन् चौधरीका एजेन्डा –
सुनसरी क्षेत्र नम्बर ३ मा एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरीले आफ्नो एजेण्डा सार्वजनिक गरेकी छिन् । विभिन्न बुँदागत रुपमा एजेण्डा प्रस्तुत गरेकी चौधरीले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन जोड दिने बताएकी छिन् ।
राजनितीमा लाग्नु अगावै आम सर्वसाधरणलाई उद्यमशिल बनाउन लागि परेकी चौधरीले युवालाई स्वरोजगार बनाउने विभिन्न योजना बनाउने बताएकी छिन् । त्यसका लागि गाउँघरमै प्राविधिक शिक्षालय स्थपनामा पहल गर्ने बताएकी छिन् ।
महिलालाई आत्मनिर्भर,स्वरोजगार बनाउन जोड दिएकी चौधरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न विशेष पहल गर्ने बताएकी छिन् । चौधरीले एक गाउँ एक उद्योग स्थापनालाई विशेष जोड दिएकी छिन् । पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनका लागि रिङ रोडको अवधारणा कार्यान्वयन गर्ने बताएकी छिन् । गाउँलाई शहर र शहरलाई व्यवस्थित गर्न उनले विषेश जोड दिने भएकी छिन् ।
अब्यबस्थित बसोबासलाई ब्यवस्थित गर्नुको साथै भुमिहिन नागरिकलाई सम्मान र समाजिक सुरक्षा कार्यान्वयनमा जोड दिने भएकी छिन् । तिनै तहका सरकारसंग समन्वय गरेर क्षेत्रको विकासमा विशेष जोड दिने योजनामा रहेकी चौधरीले खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन र सम्मान गर्ने जनाएकी छिन् ।


