नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारसँग यसअघि दुई पटक चुनाव लडिसकेकी चौधरीका अनुसार दुवै चुनावमा गच्छदारले जालझेल गरेर जितेका थिए ।
दोस्रो संविधानसभा निर्वाचन २०७० र प्रतिनिधिसभा निर्वाचन २०७४ मा गच्छदारले झिनो मतान्तरले बाजी मारेका थिए । हार्दा हार्दैको चुनाव गच्छदारले प्रहरी परिचालन गरेर मतगणना समेत रोकी जितेको चौधरीको आरोप छ । उनले यसै विषयमा निर्वाचन आयोगमा उजुरीसमेत दिएकी थिइन् । तर अर्को चुनाव आउन लाग्दा पनि त्यो उजुरीको टुंगो लागेको छैन ।
तर यो पटक चौधरी उच्च मनोबलको अवस्थामा छिन् भने गच्छदार कमजोर मानस्थितीमा छन् । चौधरीले राजनीतिक रुपमा उचाइ बढाइरहेकी छन् भने भ्रष्टाचार मुद्दाका आरोपी गच्छदारको राजनीतिक कद क्रमशः घट्दो छ । २०७४ सालमा चौधरीलाई सहयोग गरेको नेकपा माओवादी केन्द्रले यो पटक गच्छदारलाई सहयोग गरेको छ । तर पनि स्थानीयहरु भने यो पटक गच्छदारलाई भोट नदिने पक्षमा छन् । अधिकांश मानिसहरु परिवर्तनको पक्षमा उभिएका छन् ।
पटक पटक उपप्रधानमन्त्री र विभिन्न मन्त्री बनिसकेका गच्छदारले आफ्नो गृह जिल्लाको विकासमा खास योगदान गर्न सकेका छैनन् । सबै कामहरु गाउँपालिका अध्यक्ष वा मेयर स्तरले गर्ने कामहरु मात्र भएका छन् । कुनै महत्वकांक्षी परियोजनासमेत सञ्चालन गरिएका छैनन् । यस्तै भ्रष्टाचार मुद्धा लागेका गच्छदारले जितेपछि संसद जान नपाउने अवस्था छ । त्यसैले उनको मनोबल यो पटक कमजोर छ ।
यता चौधरी भने राजनीतिक उचाइ चढ्दै गएकी छिन् । गच्छदारसँग पहिलो पटक प्रतिस्पर्धा गर्दा भगवती चौधरी एमालेको जिल्ला स्तरको नेता थिइन् । हाल उनी केन्द्रीय सदस्य भइसकेकी छन् । उनले जितेर एमालेको सरकार बन्ने अवस्था आएमा उनले मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना उच्च रहेको एमालेको राजनीतिक वृत्तमा चर्चा सुनिन्छ ।


