इटहरी । कर्मचारी नियुक्त प्रकृया खारेजीको माग गर्दै केही विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला नेपाल विद्यार्थी संघले खोलेको भन्दै जनता बहुमुखी क्याम्पस इटहरीमा छ वटा विद्यार्थी संगठनले विरोध जनाएको छ । 

          कर्मचारी छनौट प्रकृयालाई लिएर आफुहरुले लगातको ताला फोडिएको विषयलाई लिएर आन्दोलित वनेको अनेरास्ववीयु लगायतका ६ विद्यार्थी संगठनले पुनः क्याम्पसमा ताला बन्दी गर्नुका साथै क्याम्पस व्यवस्थापन समितिकाअध्यक्ष लगातको राजिनामाको माग समेत गरेको हो।         ताला फोड्ने तथा विद्यार्थी कुटपिट जस्ता कार्य क्याम्पस समयमै हुदाँ समेत केही गर्न नसकेको भन्दै विरोधमा उत्रिएका विद्यार्थी संगठनले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रेवतीरमण भण्डारी , कर्मचारी छनोट समितिका संयोजक विकास केसी , क्याम्पस प्रमुख गिता अधिकारी ,सहायक क्याम्पस प्रमुखद्धय टोलनाथ काफ्ले र युवराज सिटौलाको राजिनामा माग गरेको छ ।

               त्यसै गरी ताला फोड्ने तथा विद्यार्थी कुटपिट गर्नेहरुलाई कारवाही हुनु पर्ने माग राख्दै ६ विद्यार्थी संगठनले विज्ञप्ती जारी गरेका छन । जनता बहुमुखी क्याम्पसमा रहेका अनेरास्ववियु अध्यक्ष उज्वल सिग्देल , अखिल क्रान्तिकारी अध्यक्ष अर्जुन पौडेल ,अनेरास्ववियु अध्यक्ष स्पन्दन प्रधान, राप्रवि संघ अध्यक्ष रमेश बजगाई र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नवराज किराँती लगायतका ६ विद्यार्थी संगठनका अध्यक्षहरुले दोषीलाई कारवाही तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लगायतको राजिनामा माग गर्दै संयुक्त विज्ञप्ती जारी गरेका छन ।