चितवन । माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ।पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो।
भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या घट्दै गएको हो । माघ १ मा खराब मौसमका कारण उडान हुन सकेको थिएन । भरतपुर–काठमाडौँ रुटका साथै काठमाडौँ–भरतपुर रुटमा पनि हवाई यात्रुको सङ्ख्या घटेको हो ।
अहिले भरतपुर विमानस्थलबाट दैनिक ८ देखि १० वटा उडान हुँदै आएको छ । जस अन्तर्गत गुण एयरलाइन्सले काठमाडौँ–भरतपुर–काठमाडौँ र बुद्ध एयरले भरतपुर–पोखरा–भरतपुर रुटमा दैनिक एक उडान र काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा दैनिक आठ वटा उडान गर्दै आएको छ ।
कार्यालयका निमित्त प्रमुख दीपक विकेले भरतपुर विमानस्थलमा हवाई सुरक्षामा कुनै खतरा नभएको भए पनि यात्रुमा मानसिक प्रभाव परेको हुनसक्ने बताए । विमानस्थल आसपासमा रहेका भौतिक संरचना विमानस्थल अनुसारको मापदण्ड अनुसार नबनेकाले केही समस्या भएको उनले बताए ।
भरतपुर विमानस्थलको धावनमार्गमा रहेका अप्ठ्याराका कारणसमेत यात्रुहरुलाई हवाई यात्रा असहज बनेको कार्यालयले जनाएको छ । धावनमार्ग वरपर दुई सय ५७ वटा घर मापदण्ड विपरीत बनेका छन् ।
अहिले विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटर छ । धावनमार्ग नजिक अग्ला घरका कारण विमानले पूरै धावनमार्ग प्रयोग गर्न नसक्ने अवस्था रहेको छ ।
यसैबीच यात्रुको चाप घटेपछि विमान कम्पनीले हवाई भाडासमेत घटाएका छन् । एकतर्फी भाडादर रु पाँच हजारसम्म रहेकोमा पछिल्ला दिनमा विमान कम्पनीले रु दुई हजार पाँच सय भाडा कायम गरेर अनलाइन टिकट बिक्री गरिरहेका छन् ।

