इटहरी । निर्वाचनको कार्यतालिका समेत प्रकाशन भइसकेको समयमा वैधानिकतामाथि प्रश्न उठेपछि उद्योग वाणिज्य संघ इटहरीको चुनाव स्थगित गरिएको छ । 

         निर्वाचन अधिकृत विश्व रिजालले सुचना जारी गर्दै तत्काललाई चुनाव स्थगित गरिएको जानकारी गराएका हुन् । उनले अब साधारणसभाले चुनावको म्याण्डेड दिएपछि मात्रै चुनावको कार्यतालिका फेरी प्रकाशन गर्ने गरी अहिलेलाई स्थगित गरिएको जानकारी दिएका छन् । 

           अधिवक्ता आश्विनी भट्टराईकाअनुसार हालको कार्यसमितिले आफ्नो तीन वर्षे कार्यकाल र थपिएको ६० दिनको समय पनि गुजारिसकेकोले समितिले चुनाव गराउने हैसियत राख्दैन । विधानतः तीन वर्षको समयभित्र चुनाव गर्न नसके दुई महिना थप्न सकिने प्रावधान छ । तर दुई महिनाभित्र पनि चुनाव गर्न नसके साधारणसभा गरेर मात्र चुनावमा जान सकिने प्रावधान छ ।

      ‘अहिलेको समितिले साधारणसभा गर्न सक्दैन, अब साधारणसभालाई मात्र त्यो अधिकार छ,’ उनले भने, ‘त्यतिबेलासम्म अहिलेको निर्वाचन समिति पनि अब आवश्यक रहेन ।’

         साधारणसभा माघ ११ गते हुने तय भइसकेको छ । अब उक्त साधारणसभाले चुनावको मिति तोकेपछि मात्र चुनावको नयाँ कार्यतालिका बन्ने भएको छ ।

निर्वाचन अधिकृत रिजालका अनुसार यो पटक निकै ढिलो गरी चुनावी गतिविधि अघि बढेको थियो । उनले मतदाता नामावली पनि ढिलो गरी पाएको बताए । ‘अस्ती मात्र भोट लिस्ट दिएकोले हिजो तालिका प्रकाशन गरिदिएँ,’ उनले भने, ‘आज कार्यसमितिले गराउने चुनाव अवैधानिक भनेर उजुरी परेपछि पत्र आयो र हामीले निर्वाचन तत्काललाई स्थगित गर्नुपर्यो ।’


‘काँग्रेससम्बद्ध व्यवशायीको अलमलले चुनाव सारियो’ : व्यवशायीहरु

             यता निर्वाचनबाट नयाँ प्रतिनिधि छान्ने तयारीमा रहेका इटहरीका व्यवशायीहरुले भने चुनाव स्थगित भएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । उनीहरुले नेपाली काँग्रेस सम्बद्ध व्यवशायीहरुले आफ्नो आधिकारीक उम्मेदवार छान्न नसकिरहेको अवस्थामा चुनाव सार्ने बहाना बनाएको आरोप लगाएका छन् । 

         अध्यक्षकी उम्मेदवार रन्जु सिग्देलले तोकिएको मितिमा चुनाव गर्ने इच्छा कार्यसमितिभित्रै नदेखिएको आरोप लगाइन् । ‘वहाँहरु यो चुनाव गराउने योजनामै पनि हुनुहुँदैनथ्यो,’ उनले भनिन् ।

        चुनावका लागि अध्यक्षका उम्मेदवार छान्ने विषयमा काँग्रेस सम्बद्ध व्यवशायीहरुबिच कुरा मिलेको छैन । हालका अध्यक्ष भीम पौडेल पुनः दोहोर्याउने गरी माहोल बनाउन खोजिरहेका छन् । त्यसको लागि एमालेसम्बद्ध प्यानलबाट अध्यक्षकी उम्मेदवार रन्जु सिग्देललाई तालमेलका लागि लबिङ गरीरहेका छन् । 

यता काँग्रेस सम्बद्ध व्यवशायी नेता तथा हालको कार्यसमितिकी कोषाध्यक्ष गायत्री कट्वालले आफू कुनै हालतमा अध्यक्षमा उठ्ने अडान लिएकी छिन् । उनले एक वर्षअघि देखि तयारीसमेत गरिरहेकी छिन् । 

         ‘मलाई अहिलेका अध्यक्ष ज्यू आफैले नदोहोरिने बताएपछि म अघि बढेकी हुँ,’ उनले भनिन्, ‘अहिले आएर आफै उठ्ने इच्छा देखाइरहनुभएको छ, म कुनै हालतमा ब्याक हुन्नँ ।’

         यता नेपाली काँग्रेसले उनलाई उम्मेदवार बनाउन चाहेको र्छैन । विकल्पमा जीवन पराजुलीलाई अध्यक्ष उम्मेदवार बनाउने हल्लासमेत बाहिरिएको छ । काँग्रेस व्यवशायीहरु नै दुई चिरा परेपछि चुनाव जित्न गाह्रो पर्ने भएकोले तत्काललाई चुनाव सार्ने रणनीतिमा कार्यसमिति लागेको आरोप व्यवशायीहरुको छ ।