नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठन भए यता आर्थिक सूचकहरु सकारात्मक बन्दै गएकोले चाँडै नै मुलुकको अर्थतन्त्र लिकमा आउने बताउनुभएको छ ।
विराटनगरमा विहीबारदेखि आयोजना गरिएको सिएनआई कोशी एक्स्पो २०२३ को उद्घाटन गर्दै अध्यक्ष ओलीले यति वेला मुलुकमा देखा परेको उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारले पहल लिने बताउनुभयो ।
उहाँले सरकारले ल्याएको न्यूनतम साँझा नीतिगत प्राथमिकता र कार्यक्रम उद्योगी व्यवसायी मैत्री रहेको र यसबाट उद्योगी व्यवसायीहरुले भोग्दै आएका बैंक व्याज दर र लिक्विडिटीको अभाव लगायतका समस्याहरु सम्बोधन गर्न सकिने धारणा राख्नुभयो ।
नेपाल उद्योग परिसंघ प्रदेश १ समितिले आयोजना गरेको सिएनआई कोशी एक्स्पोलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले सबै सरोकारवालाहरुसँग छलफल गर्ने बताउनुभयो ।
सो कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारलाई सबैको आवश्यकताको सरकार बनाउने गरी योजना र कार्यक्रमहरु ल्याउन लागेको बताउनुभयो । उहाँले प्रदेशमा मन्त्रालयको संख्या समेत घटाइएको जानकारी दिनुभयो । मन्त्री कार्कीले आफुले ५ वर्ष सम्म उद्योगहरुलाई नजिक बाट हेरेको हुनाले अबका दिनमा पनि निजी क्षेत्र सँग सहकार्य गरेर अगाडि बढ्ने ब्ताउनसभयो । माघ १९ गते देखि २८ गते सम्म आयोजना हुने सिएनआई कोशी एक्स्पोमा ३७० वटा स्टलहरु राखिएका छन् ।
सो एक्स्पो करिब ३ लाख उपभोक्ताहरुले अवलोकन गर्ने आयोजकले जानकारी दिइएको छ । सो एक्सोपा विभिन्न जातजातीहरुको संस्कृति झल्किने र पहिचान गर्ने स्टलहरु समेत राखिएको छ ।

