दुहवी । सुनसरीको दुहवी वडा नं. ९ स्थित छातावेलीका आगलागी पिडित परिवारलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राहत वितरण गरेकी छिन् । गृह जिल्लाको भ्रमणमा रहेकी मन्त्री चौधरीले बिहीबार आगलागी भएका घरहरुको स्थलगत निरीक्षण गर्दै पिडित परिवारलाई म्याट्रेस, फिल्टर सहित नगद सहयोग गरेकी हुन् ।
गत पौष २ गते छातावेली (दुई तोलिया) मा आगलागी भई त्यहाँका घर तथा धनमाल जलेर नष्ट भएको थियो । सोही बखत आफ्नो तर्फबाट सहयोग राहत प्रदान गर्ने, राज्यबाट पनि सहयोग जुटाउने प्रतिबद्धता गरेकी मन्त्री चौधरीले गृह जिल्ला गएको अवसर पारेर आगलागी पिडित परिवारलाई सहयोग गरेकी हुन् ।
मन्त्री चौधरीले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थासँगको सहकार्य र व्यक्तिगत रुपमा राहत वितरण गरेकी हुन् । दुहवी ९ छातावेली मुस्लिम समुदायको बाहुल्यता भएको वडा हो । राहत वितरण गर्दै उनले स्थानीय जनता र अगुवा कार्यकर्ताहरुसँग उक्त क्षेत्रको समस्या र चुनौतिका सवालमा पनि छलफल गर्दै आगामी दिनमा समस्या र चुनौतिहरुलाई निराकरण गर्न लाग्ने प्रतिबद्धता जनाइन् ।

