सुनसरी/ युवा व्यवसायी रञ्जु सिग्देल (चौलागाईँ) इटहरीमा व्यवसाय तथा समाजसेवाको क्षेत्रमा चिनिएको नाम हो। युवावस्थामै उनले व्यापार र सामाजिक काममा देखाएको सक्रियताकै कारण उनी यतिखेर माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनको लागि अध्यक्ष उम्मेदवार बनेकी छिन्।
श्रीमानले थालेको व्यवसायलाई सहयोग गर्दा गर्दै आज कुशल व्यवसायी बनेकी सिग्देलले सामाजिक दायित्व र अभियानहरुलाई पनि सँगसँगै लगेकी छिन्। व्यवसायी बनेर आफूमात्र कमाउने वा आफ्नै लागिमात्र सोच्ने भन्दा पनि समाजको विकासको लागि के योगदान गर्न सकिन्छ भन्ने सोचका कारण उनी विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्दै यतिखेर व्यवसायीहरुको संघको नेतृत्व लिन अघि सरेकी छिन्। इटहरीस्थित सिग्मा सप्लायर्सकी सञ्चालिका सिग्देल परिवारले सानो लगानीमा इटहरीमा व्यवसाय सुरु गरेका थिए। सिग्देल निम्न मध्यमवर्गीय परिवारबाट प्रतिनिधित्व गर्छिन्। इटहरीमा व्यवसाय गर्ने धेरैजसो व्यवसायीहरु निम्न मध्यमवर्गीय नै छन्।
‘त्यसैले सानादेखि ठूला सबै व्यवसायीहरुको पीडा बुझ्छु,’ उनी भन्छिन्, ‘हाम्रो परिवारले आफैले व्यवसाय स्थापित गरेको हुँदा साना र संघर्षशील युवा, महिला व्यवसायीहरुको समस्या मैले पनि भोगेकी छु।’ शिक्षा शास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेकी उनले पढाइ सके लगत्तै क्याम्पससमेत पढाइन् । व्यवसाय थालेपछि भने उनले अध्यापनलाई निरन्तरता दिन पाइनन् तर उनले आफ्नो ज्ञान, सीप विभिन्न तालिमहरुमार्फत् भने बाँड्ने गरेकी छिन्। बौद्धिक र भिजनरी नेतृत्व सीप उनमा छ ।
जसले उनको व्यवसायिक र सामाजिक सक्रियतालाई ठूलो सहयोग गरेको छ। उनको श्रीमानलगायत परिवार नै व्यवसायमा छन्, एकपछि अर्को व्यवसाय थप्दै र शाखा विस्तार गर्दै लगेका छन्। त्योसँगै उनी सामाजिक कामहरुमा पनि सक्रिय छिन्। सामुहिकताको भावना राख्छिन्। समुहमा काम गर्ने कुशलता उनमा छ।
उनले आजसम्म जति संघसंस्था वा संगठनमा जुनसुकै जिम्मेवारी पाएपनि कुशलतापूर्वक निर्वाह गरेको इतिहास छ। निर्वाह गर्न नसकिने जिम्मेवारी लिनु नै हुँदैन, जिम्मेवारी लिइसकेपछि इमान्दार भएर निर्वाह गर्नुपर्छ भन्ने उनको सोच छ। ‘त्यसैले मैले हिजोका दिनमा जहाँ जस्तो जिम्मेवारी पाएपनि समय, श्रम दिएर पुरा गरेकी छु,’ उनी भन्छिन्, ‘संघको अध्यक्ष भएँ भने म दुई वर्षको पुरै समय संघको व्यवस्थित विकासलाई दिनेछु,’ उनी थप्छिन्, ‘भोलि मैले संघको नेतृत्व अर्को समितिलाई सुम्पँदै गर्दा इटहरीको व्यवसायिक विकासको आधार बनिसकेको हुनेछ।’
उद्योग वाणिज्य संघको सदस्य हुँदा गरेका काम : २०७३ सालमा भएको उद्योग वाणिज्य संघको निर्वाचनमा महिलातर्फ सदस्यमा निर्वाचित भइन्। उद्योग वाणिज्य संघको महिला सदस्य भूमिकाका हिसाबले निकै सानो ठाउँ हो तर उनले आफ्नो मेहेनत र सीपलाई सक्दो उपयोग गरिन् र तीन वर्षको अवधिमा आफूले पाएको जिम्मेवारीभन्दा धेरै काम गरिन्। उनले महिला उद्यम समिति गठन गरेर महिला व्यवसायीहरुलाई समेटिन् र उनीहरुकै नेतृत्वमा महिला उद्यमी मेला लगाएर १४ वटा जिल्लाका महिलाको प्रतिनिधित्व गराइन्।2 देशभरका विभिन्न कार्यक्रम, सभा, सम्मेलनमा इटहरीको प्रतिनिधित्व गराइन्। उद्यमीहरुका लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिन्। उनकै नेतृत्वमा इटहरीमा रोजगार मेला भयो।
२०७४ सालमा बाढी गएको बेलामा विशेष गरि बाढिपिडित सुत्केरी महिला र बालबालिकालाई उनले सहयोग अभियान नै चलाइन्। जसमा इटहरीका व्यवसायीहरुले सक्दो सहयोग गरेका थिए। चुनावमा पराजयपछि पनि थाकिनन् सिग्देल त्यसपछिको अर्को एक कार्यकालका लागि भएको संघको चुनाव भने उनले गणितीय रुपमा हारिन् तर उनी आफ्नो जिम्मेवारीबाट पछि हटिनन्। पदमा भएपनि नभएपनि उनी व्यवसायीहरुसँगै रहिन्।
लायन्सजस्ता विभिन्न संघसंस्थाहरुमा रहेर एकपछि अर्को सामाजिक कामहरु गर्दै रहिन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ सुनसरीको महासचिव र नेपाल उद्यमशिल महिला सुनसरीको महासचिवका रुपमा उनले जिल्लाभरीका साना उद्यमी उत्पादन गर्ने, तालिम दिने र उत्पादनको बजारीकरणका लागि सहयोग गर्ने काम गरिरहेकी छिन्। उनले यसबीचमा घरेलु उत्पादनको प्रदर्शनी मेलासमेत लगाइन् भने अन्य विभिन्न सामाजिक सरोकारका विषयमा समेत व्यवसायीहरुको पक्षमा निरन्तर क्रियाशिल छिन्। अध्यक्षको दौडमा रञ्जु : रञ्जु अहिले युवा व्यवसायीहरुको प्यानल बनाएर चुनावी मैदानमा छिन्। उनको प्यानलमा केही पुराना र धेरै नयाँ उम्मेदवारहरु छन्, जो आफ्नो क्षेत्रमा खारिएर संघको नेतृत्व लिनको लागि अघि सरेका छन्।
आफूले पाएको जिम्मेवारीलाई अनुसासित रुपमा निर्वाह गर्ने खुबी रञ्जुमा छ। सदस्य हुँदा नै पनि धेरै रचनात्मक काम गरेकी रञ्जु अवको उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षकी उम्मेदवार छिन्। अध्यक्ष भएपछि अहिलेसम्मको सबै संस्थागत सीप, अहिलेसम्मको सबै ऊर्जा अनि अनुभवलाई इटहरीको व्यवसायीक क्षेत्रको संस्थागत विकासका लागि उनी खन्याउन चाहन्छिन्। अग्रज व्यवसायीहरुले इटहरीमा उद्योगधन्दा र व्यवसायको विकासमा धेरै योगदान दिएको सम्झँदै उनी भन्छिन्, ‘उहाँहरु सबैलाई सम्मान गर्दै, सबैसँग सल्लाह लिएर अनि सबै व्यवसायीहरुको भावनालाई समेटेर म दुई वर्षमा गर्ने कामहरुको सुची बनाएर अघि बढ्नेछु।’ मुख्य योजना : समन्वय र व्यवसायीहरुको विकास : संघले आफैले धेरै काम गर्न सक्दैन ।
तर सरोकारवाला निकायहरुसँग समन्वय मात्र गर्ने हो भने पनि इटहरीको औद्योगिक र व्यापारिक क्षेत्रको अवस्थामा धेरै सुधार हुने उनको विचार छ। त्यसको लागि यहाँका सबै राजनीतिक दल, आम नागरिक, संघसंस्थालाई सँगसँगै लिएर हिड्ने उनी बताउँछिन । उनी व्यवसायिक विकासमा राजनीतिक हस्तक्षेप र स्वार्थलाई सँगै जोड्न नहुने धारणासमेत राख्छिन्। व्यवसायसम्बद्ध विभिन्न निकाय, संस्थाहरु, तीनै तहका सरकार, सुरक्षा निकाय, कर अर्थ र राजस्वसम्बन्धि कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वयात्मक वातावरण निर्माण गर्ने उनको योजना छ। ‘पार्किङ, घरबहाल, यहाँको ढल निकास, ट्राफिक व्यवस्थापन, कर र राजस्वका विषयमा देखिएका समस्याहरुलाई समन्वयात्मक वातावरणमा समाधान गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘रणनीतिक योजना बनाएर कोसिस गर्यो भने असम्भव केही छैन, इटहरीको व्यवसायिक क्षेत्रको संस्थागत विकासको जग बसाउन धेरै काम गर्न सकिन्छ र म गर्छु।’ उनले व्यवसायीहरुको लागि इटहरीलाई व्यवस्थित र उत्प्रेरक नगर बनाउने सपना देखेकी छिन्।
उनी भन्छिन्, ‘उद्यमी व्यवसायीहरुलाई सीप सिकाउने, व्यवसाय सञ्चालनका क्रममा परेका समस्या समाधान गर्न प्रभावकारी संयन्त्र बनाउने, व्यवसायीसँग हरेक हप्ता कुनै न कुनै कार्यक्रम, अभियानहरु बनाएर जोडिइरहने गरी काम गर्ने अनि मेला, महोत्सव र प्रदर्शनीहरु गरिरहने योजना छ।’ सबैभन्दा मुख्य त, संघलाई व्यवसायीहरुको अविभावक संस्था बनाएर छाड्ने उनको अठोट छ। ‘त्यसो भयो भने मात्र संघको सदस्य बन्न र नविकरण गर्न व्यवसायीहरु इच्छुक हुन्छन्,’ इटहरीमा अझैपनि हजारौं व्यवसायीलाई संघमा जोड्न सकिनेमा उनको जोड छ। उनी भन्छिन्, ‘समग्रमा मेरो नेतृत्वको संघले इटहरीका व्यवसायीहरुलाई अभिभावक भएको महसुस गराउनेछ।’ को–को छन् प्यानलमा ? सिग्देलको प्यानलमा २७ वर्षका युवासमेत सदस्य छन ।
सिग्देल आफैपनि अहिले अध्यक्षका अन्य उम्मेदवारहरुभन्दा युवा हुन्। अग्रजहरुसँग सल्लाह लिँदै नेतृत्व युवाले लिनुपर्ने उनको धारणा छ। उनको प्यानलमा महिलातर्फ लीला राई र रुची शाह छन्। यस्तै वाणिज्यतर्फ सुरेश कार्की, ढुण्डीराज गुरागाईँ, राकेश श्रेष्ठ, बलबहादुर न्यौपाने, सुशिल शाह, राजन बानियाँ, हरिप्रसाद गौतम, अनिता निरौला तिम्सिना, दीपक खड्का छन्। यस्तै उद्योगतर्फ राजेन्द्रकेशरी घिमिरे, अभिषेक बस्नेत, दिलिप पराजुली र शिवप्रसाद गुरागाईँ (भुपाल) छन्। यसैगरी वस्तुगत सदस्यतर्फ उमानाथ दाहाल र पुष्पनारायण चौधरी उम्मेदवार छन्। पुष्पनारायण चौधरी इटहरीको पहिलो जाति घोषित थारु समुदायबाट उद्योग वाणिज्य संघ इटहरीको इतिहासकै पहिलो थारु प्रतिनिधिसमेत हुन्।



