ट्राफिक नियम पालनामा कडाइ गर्न ट्राफिक प्रहरीले बढाएको जरिवाना कार्यान्वयन नहुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको हो ।
कानुन विपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरु आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतम सवारी नियम उल्लंघन गर्दा कानुनअनुसरकै जरिवाना लिने सहमति भएको बताए । ३ पुसयता ट्राफिक प्रहरीले १६ प्रकारका सवारी नियम उल्लंघनमा पहिलोपटकमै १५ सय रुपैयाँ जरिवाना लिन थालेको थियो ।
ऐनको दफा १६४ अनुसार नियम मिच्नेलाई तत्कालै यातायात निरीक्षक र ट्राफिकको प्रहरी सहायक निरीक्षकले पहिलोपटकमा ५ सय, दोस्रो पटकमा एक हजार र तेस्रो पटक वा सो भन्दा बढी पटक सवारी नियम उल्लंघन गर्नेलाई एक हजार ५ सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ ।
त्यसै, अनुसार अब जरिवानाको दर कार्यान्वयन हुने गरी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । ‘अब पहिलो पटकमै १५ सय रुपैयाँ जरिवना नलिने गरी सहमति भएको छ,’ उनले भने, ‘ऐनमा जे व्यवस्था छ, त्यही कार्यान्वयन हुन्छ ।’

