इटहरी : लघुबित्त संस्थाबाट ऋण लिएकाहरूले इटहरीमा आक्रोश व्यक्त गरेका छन् ।
सोमबार इटहरीको मुख्य चौकमा लघुबित्तबाट ऋण लिएर मानसिक समस्यामा परेको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका हुन् ।
प्रदेश १ का सुनसरी, मोरङ, झापा, उदयपुर लगायतका जिल्लाबाट भेला भएका पीडितहरूले इटहरीमा चार घण्टासम्म धर्ना समेत दिएका छन् ।
करीब दुई सयको संख्यामा भेला भएका पीडितहरूले प्ले कार्डसहित लघुबित्तबाट पीडित भएको भन्दै धर्ना दिएका हुन् ।
‘लघुवित्त संस्था खारेज गर’, ‘महिला मार्न पाइँदैन’, ‘लघुवित्त संस्था चाहिँदैन’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।
लघुबित्तले ऋण लिएबापत सेवा शुल्क भन्दै बढी रकम लिने, ब्याजका लागि घरै धाएर पटक–पटक यातना दिने गरेकाले आँफूहरू आन्दोलित बन्नुपरेको बताएका छन् । ब्याजदरका नाममा चर्काे रकम लिएको भन्दै आन्दोलित बनेको पीडितको भनाइ छ ।
लघुबित्त ऐन अनुसार एक व्यक्तिले दोहोरो संस्थाबाट ऋण लिन पाउँदैनन् । तर, भिन्ना–भिन्नै लघुबित्तका कर्मचारीले गाउँमा जाने समिति बनाएर ऋण दिँदा स्थानीयबासी पीडित बनेको पीडितको भनाइ छ ।
घिमेक, सहारा, मिरमिरे लगायत लघुबित्तका कर्मचारीले समयमा ऋण तथा ब्याज तिर्दा पनि चुक्ता नहुने, सेवा शुल्कका रूपमा विभिन्न शीर्षक बनाएर पीडा दिने आन्दोलनमा सहभागीहरूले बताएका छन् ।

