इटहरी । उद्योग वाणिज्य संघ इटहरीको पदस्थापन कार्यक्रम निर्वाचित कार्यसमिति सदस्यहरुले नै बहिष्कार गरेका छन् । 

बुधबार उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय अध्यक्ष चण्डिराज ढकाल उपस्थित सपथग्रहण तथा पदस्थापन कार्यक्रममै संघको विधानविपरीत काम भएको भन्दै बहिष्कार गरेका हुन् । 

१९ जना निर्वाचित सदस्यहरुमध्ये एमाले निकट नौ जना सदस्यहरुले बहिष्कार गरेका हुन् । विधानविपरीत गतिविधि भएको, परिवारवाद लादिएको र राजनीतिक हस्तक्षेप भएको आरोप लगाउँदै उनीहरुले गतिविधि नसच्याए सशक्त विरोध गर्ने चेतावनी दिएका छन् । 

पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले २१ वटा उपसमिति घोषणा गरेका थिए । यस्तै पदाधिकारीहरुसमेत मनोनीत गरेको घोषणा गरेका थिए । संघको महासचिवमा विनोद पौडेल, उपाध्यक्षमा सविना कोइराला र विष्णु नारायण डाँगी, कोषाध्यक्षमा सन्नी चौधरी, सचिवमा अशोक मोर र सिनेट रिजाल चयन भएका छन् ।

बहिष्कार गर्ने व्यवशायीहरुका अनुसार दुई जना सचिवहरुमध्ये एक जना उद्योग र एक जना वाणिज्यतर्फबाट मनोनित हुनुपर्ने व्यवस्था छ । तर आफू निकट व्यवशायी उद्योग सदस्य नभएकै कारण पराजुलीले दुई जनै वाणिज्य सदस्यलाई सचिव नियुक्त गरेका छन् । चार जना उद्योग सदस्यहरु निर्वाचित भएकोमा एक जना विष्णुनारायण डाँगी मात्र पराजुली निकट छन् भने तीन जना एमाले निकट व्यवशायी छन् । अर्को प्यानलबाट निर्वाचित भएकै कारण नसमेटिएकोमा व्यवशायीहरु असन्तुष्ट छन् ।

बहिष्कारपछि बोल्दै सुरेश कार्कीले विधानका विभिन्न प्रावधानहरु उल्लंघन गरेको भन्दै नसच्याए अझ सशक्त विरोधमा उत्रिने चेतावनी दिएका छन् ।

उनले ९ जना पदाधिकारी रहने सचिवालय कार्यसमितिले निर्धारण गर्नुपर्नेमा अध्यक्षले आफूखुसी मनोनित गरेर सपथग्रहण कार्यक्रममा घोषणा गरिएको आरोप लगाए । यस्तै विभिन्न उपसमितिहरु कार्यसमितिको बैठकले निर्णय गरेर बनाउनुपर्नेमा सपथग्रहण कार्यक्रममै घोषणा गरेर निर्वाचित पदाधिकारीहरुसँगै सपथ खुवाउनु विधानविपरीत रहेको बताए । 

पत्रकार सम्मेलनमा बोल्दै संघका निर्वाचित सदस्य राजेन्द्र केशरी घिमिरेले निर्वाचित अध्यक्षलगायतले आफूहरुलाई उपेक्षा गरेर अघि बढेको र त्यसको नतिजा राम्रो नहुने चेतावनी दिए । 

‘व्यवशायीहरुको संघलाई राजनीति र परिवारवादमा लगियो,’ उनले भने, ‘वहाँहरु १० जनाले जितिरहँदा हामी ९ जना सदस्य निर्वाचित भएका हौं, यति ठूलो संख्यामा पदाधिकारीहरुलाई वेवास्ता गरेर अघि बढ्दा जनमतको अपमान हुन्छ भने वहाँहरुलाई पनि सहज हुँदैन ।’ 

भर्खरै सम्पन्न निर्वाचनबाट संघमा काँग्रेस निकट व्यवशायी जीवन पराजुली अध्यक्षमा निर्वाचित भएका छन् भने उनको प्यानलबाट अन्य ९ जनाले जित हात पारेका थिए । यता एमाले निकट प्यानलबाट ९ जना व्यवशायीले जितेका थिए ।

दुवै पक्षले संयुक्त विजय जुलुसमा सहभागिता जनाएपनि अहिले अध्यक्षले एकलौटी आफू निकटका मानिसहरुलाई विधानविपरीत मनोनयन गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ ।


पराजुली निकट पनि असन्तुष्ट

नयाँ निर्वाचित पदाधिकारीहरुले पदको बाँडफाँड गर्ने नियमलाई कुल्चँदै अध्यक्ष र अन्य केही संघका पुर्व अध्यक्ष मिलेर मनोमानी गरेको समेत आरोप लागेको छ । सो क्रममा संघमा निर्वाचित सदस्य हरुमध्ये वरिष्ठ विष्णु डाँगीलाई उपाध्यक्ष मनोनित गरिएपछि डाँगी असन्तुष्ट छन् । 

उनी वरिष्ठ उपाध्यक्षको आकांक्षी थिए । यता वरिष्ठ उपाध्यक्ष पदमा आज कसैको नाम घोषणा गरिएन । उक्त पदमा अध्यक्षमा पराजित पिताम्बर पोख्रेललाई मनोनित गरि नियुक्त गर्ने तयारी रहेको चर्चा छ । जसको कारण सदस्यहरु असन्तुष्ट बनेका छन् ।

‘निर्वाचित मध्येबाट वरिष्ठ उपाध्यक्ष चयन गर्नुपर्छ,’ अर्का सदस्य उमेश दाहालले भने, ‘मनोनित गरेर वरिष्ठ पदमा मनोनित गर्नु जनमतको अपमान हुनेछ ।’

यस्तै अनावश्यक समितिहरु बनाएर जथाभावि मनोनयन गरेको भन्दै पराजुली निकट व्यवशायीहरुसमेत असन्तुष्ट बनेका छन् ।


संघ फुट्ने चर्चा

इटहरीमा व्यवशायीहरुको संगठनमा राजनीतिक र गुटगत हस्तक्षेप बढ्न थालेको छ । सहमतीमा समितिहरु चयन हुने गरेकोमा पछिल्लो समयमा नेतृत्वले छाती फराकिलो बनाउन नसक्दा संघहरु टुक्रन थालेका छन् । 

पराजुली अध्यक्ष भएकै समयमा होटल व्यवशायी संघ फुटेको थियो । आफूहरुलाई पनि समेटेर कार्यसमिति बनाउन माग गरेको एमाले पक्षधर व्यवशायीहरुलाई वेवास्ता गरेपछि व्यवशायीहरुले होटल तथा लज व्यवशायी समिति ब्युँताइसकेका छन् । समितिको अध्यक्षमा उमेश दाहाल छन् ।

यस्तै पराजुली अध्यक्ष भएपछि १९ जनाको निर्वाचित समितिमध्ये ९ जना एमाले पक्षधर व्यवशायीहरु छन् । दोस्रो ठूलो जनमत आफूहरुको भएपनि उपेक्षा गरिएको भन्दै उनीहरु असन्तुष्ट बनेका छन् । ‘सिमित परिवार र गुट अनि पार्टीको राजनीति बढी भयो,’ एक व्यवशायीले भने, ‘यस्तो रवैया कायमै रह्यो भने उद्योग वाणिज्य संघको समानान्तर संस्था खुल्न सक्छ ।’