जीवन विज्ञान प्रतिष्ठानले प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति र समृद्दिले भरिएर आनन्द दिलाउने ध्येयले शनिबार कोशी प्रदेशको इटहरीमा आध्यात्मिक जागरण कार्यक्रम गरेको छ।
धार्मिक जागरणका अगुवा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक एलपी भानु शर्माले मानिस खुल्ला किताव भएकाले गर्दा आफ्नो पूर्ण क्षमताका जागरण भएपछि मात्र जीवनमा पूर्णता आउने दावी गर्नुभयो । उहाँले जीवन विज्ञानले वैज्ञानिक आध्यात्मिक प्रयोग गरेर व्यक्तिमा परिवर्तन गरेपछि मात्र व्यक्ति, समाज र देश बन्ने दावी गर्नुभयो । कार्यक्रममा हास्य कलाकार मदन कृष्ण श्रेष्ठले आध्यात्मिक जीवनको महत्वपूर्ण योग्यता भएकाले आध्यात्मिकता नहुँदा त मानिस राक्षस हुने बताउनुभयो ।
सोही क्रममा हास्य कलाकार हरिवंश आचार्यले जीवन विज्ञानको अनुसरण राजनीतिक दलका नेताले गरेमा पक्कै पनि देशमा सुधार आउने आशा गर्नुभयो । आत्यात्मिक जागरणका अभियन्ता एवम् जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक रमेश नेपालले शारीरिक र मानसिक दुवै ढंगले मानिस स्वास्थ्य भएर जीवन जीउन सकेमा मात्र आनन्द प्राप्ति हुने हुँदा नागरिकहरुमा सोही अनुसारको सचेतना फैलाउन पूर्वबाट अभियान थालिएको बताउनुभयो । पछिल्लो समय अधिकतर व्यक्तिमा मानसिक तनाव छ ।
यसको असर सबैमा पर्छ । जसले गर्दा मानिसलाई तनाब, चिन्ता, निरासा र अस्तव्यस्तलाई व्यवस्थापन गर्न सन्देश प्रवाह गर्न जागरण उत्सव गरिएको जानकारी दिइयो । जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेशले आयोजना गरेको जागरण उत्सवमा नेपालसहित ५५ देशका प्रतिनिधी सहभागी भएका छन् । नेपालबाट मात्र ४० जिल्लाका प्रतिनिधी सहभागी भएका छन् ।
कार्यक्रम अन्तर्गत फागुन २१ र २२ गते जीवन विज्ञान प्रतिष्ठानका एक हजार एक सय ५५ जना प्रशिक्षकको जीवन विज्ञान परिषद गरिनेछ । त्यसपछि एक सातासम्म जीवन विज्ञान प्रतिष्ठानले चक्र विज्ञानको कार्यक्रम राख्ने कोशी प्रदेश संयोजक बालिका खड्का भट्टराईंले बताउनुभयो ।


