इटहरी : इटहरी अस्पतालमा विद्यार्थीले पूर्ण छुट पाउनुपर्ने मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ) ले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई ध्यानकर्षण पत्र बुझाएको छ ।

बिहीबार नेविसंघ जनता बहुमुखी क्याम्पसका इकाई सभापति सहदेव काफ्लेसहितको टोलीले मेयर पौडेलको ध्यानाकर्षण गराएको हो ।

जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू खासगरी पहाडी क्षेत्रबाट आएका र कोठाभाडामा बस्दै आएका कारण पनि स्वास्थ्य समस्या पर्दा आर्थिक रूपमा समस्या हुने भएकाले अस्पतालमा पूर्ण छुटको माग राखिएको काफ्लेले बताए ।

‘विभिन्न ठाउँबाट जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई इटहरी उपमहानगरको मातहतमा रहेको इटहरी अस्पतालमा विद्यार्थीहरूलाई उपचारका लागि पूर्ण छुटको व्यवस्था मिलाइदिन अनुरोध गरेका हौँ,’ काफ्लेले भने, ‘यस विषयमा मेयर सा’ब सकारात्मक हुनुहुन्छ ।’