रामधुनी । आसन्न चैत्र १९ गते हुने झुम्का उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि साझा व्यवसायी समूहले चुनावी अभियानको सुरुवात गरेको छ । शनिवार रामधुनी मन्दिरका पत्रकार सम्मेलनको आयोजनाका साथ सो समूहले अभियानको सुरुवात गरेको हो। साझा व्यवसायी समूहले आफ्नो टिम व्यवसायी सङ्घ हाँक्नका लागि मजवुद रहेको बताएको छ । दुर्गा प्रसाद फुयाल नेतृत्वमा चुनावी अभियानमा निस्किएको टिमले आफ्नो कार्यकालमा उद्योग वाणिज्य सङ्घको भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

            आफूहरू निर्वाचित भएर आएपछि सुकुम्वासीको अवस्थामा रहेको भवनलाई जग्गाको व्यवस्थापन गरी भवन निर्माणको कार्य सम्पन्न गर्ने अध्यक्ष पदका उम्मेदवार दुर्गा प्रसाद फुयालले बताए । उनले भने, विश्वमै आर्थिक सङ्कट आएको अवस्थामा व्यवसाय प्रवर्धनका लागि मेरो नेतृत्वले अग्रणी भएर काम गर्ने छ ।

           अव्यवस्थित रूपमा रहेको व्यवसायीलाई व्यवस्थित बनाउने, बजार क्षेत्रको यातायातलाई सहज बनाउने, व्यवसायीलाई सुरक्षित भएर व्यवसाय गर्नका लागि सिसी क्यामेरा जडानको कार्य गर्ने, कर प्रणालीलाई प्रविधिमैत्री बनाउने लगायतका प्रमुख एजेन्डा बनाएर सो समूह निर्वाचनमा होमिएको छ ।

             सो समूहमा अध्यक्ष दुर्गा प्रसाद फुयाल, प्रथम उपाध्यक्ष राम कुमार चौधरी (राजकुमार), दितृय उपाध्यक्ष लक्ष्मी प्रसाद भट्टराई, महासचिव पुष्प दाहाल, वाणिज्य सचिव राजकुमार साह(राजु), उद्योग सचिव हरीराम चौधरी, प्रचार सचिव चन्द्रकला रिजाल(धिताल ), कोषाध्यक्षमा नन्दलाल ढुङ्गाना (सन्तोष) रहेका छन् । यसै गरी सदस्यहरूमा ओमप्रकाश साह (सुरेश), रबिन कुमार श्रेष्ठ, सुनिल पोख्रेल, सुवास घिमिरे, स्टेला राई, नारायण चौधरी र सुदिप श्रेष्ठ उम्मेदवार रहेका छन् ।