इटहरी । कलालय इटहरीको स्कूल थिएटर अन्तर्गत आठौँ श्रृङ्खलाका लागि इटहरीमा १५ दिने कार्यशाला आयोजना हुने भएको छ । विद्यार्थी आफैले लेखन,निर्देशन र अभिनय मार्फत नाटक प्रर्दशन गर्दै आएको कलालय इटहरीले आठौँ श्रृङ्खलाका लागि कार्यशाला गर्न लागेको हो ।

कार्यशाला आगामी चैत्र २२ गतेदेखी १५ दिन सम्म आयोजना गरिने कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।इटहरीका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थी वा अन्य विद्यार्थीहरुले पनि कार्यशालामा सहभागिता जनाउन सकुन भन्ने उद्येश्यले कार्यशाला आयोजना गर्न लागेको अध्यक्ष जयन्तीले बताए ।

यस पटक नयाँ विद्यार्थीलाई प्राथमिकता राखिएको छ । अघिल्ला संस्करणका कलाकार र केही नयाँ विद्यार्थीको टिमले नाटक प्रस्तुत गर्दै आएको अवस्थामा यस पटक नयाँ विद्यार्थीलाई प्राथमिकता दिइएको उनले बताए ।

५० जना विद्यार्थीहरुलाई कार्याशालामा सहभागी गराईनेछ । अघिल्ला संस्करणमा करिव डेढ महिना कार्यशाला आयोजना हुने गरेकोमा यस पटक भने १५ दिन मात्रै गर्ने कलालयले जनाएको छ । विद्यार्थीहरुको पढाईमा असर नपुगोस भनेर १५ दिनको समय राखिएको अध्यक्ष जयन्तीले बताए ।

कार्यशालाको अन्तिम दिन नाटक मन्चन गर्ने उनले जानकारी दिए । यस पटक ४ देखी ५ वटा नाटक मन्चन गर्ने योजना रहेको उनले बताए ।

कलालयको स्कूल थिएटरको सातौँ श्रृङ्खला सम्म आइपुग्दा एक हजार बढि विद्यार्थी कलाकारहरु उत्पादन गरेको छ। स्कूल थिएटरबाट उत्पादन भएका कलाकारहरुले काठमाण्डौँका ठुला थिएटरमा आवद्ध भएर नाटक प्रस्तुत गरिसकेका छन् । १० जना बढि कलाकारहरुले काठमाण्डौँका ठुला थिएटरमा नाटक प्रस्तुत गरिसकेको कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।

यस्तै कलालयको टिमले भारतको नाटक महोत्वमा पनि नेपालको तर्फबाट प्रतिनितित्व गर्दै नाटक प्रर्दशन गरिसकेको छ ।स्कूल थिएटरबाट उत्पादन भएका विद्यार्थीहरु नाटकमा मात्रै नभएर अन्य क्षेत्रमा पनि उत्तिकै अब्बल रहेको अध्यक्षको दाबी छ । स्कूल थिएटरका कलाकारहरुले पछि नाटक नै गर्नुपर्छ भन्ने नभएको अध्यक्ष जयन्तीले बताए । विद्यार्थीले आफुले चाहेको क्षेत्र वा पेशामा सृजनात्मक बन्दै आफ्नो दक्षता प्रर्दशन गर्न उत्प्रेरित गराउनु नै स्कूल थिएटरको मुख्य उद्देश्य रहेको अध्यक्ष जयन्तीले बताए ।