काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा नेपाली युवा उद्यमी देशबन्धु बस्नेत (अजित) ले उम्मेदवारी घोषणा गरेका छन् । बस्नेतले एशोसिएट्सतर्फ कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिने भएका हुन् ।
आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहबाट उनी एशोसिएट्सतर्फ सदस्यमा उम्मेदवार बनेका हुन् । सोमबार एक कार्यक्रमबीच श्रेष्ठसहित विभिन्न उम्मेदवारले उम्मेदवारी घोषणा गरेका छन् । जसलाई संघको सातै प्रदेशका अध्यक्षहरु र केही अग्रज व्यवशायी नेतृत्वहरुको साथ रहेको बताइएको छ ।
बस्नेतले यसअघि पनि महासंघको केन्द्रिय सदस्य निर्वाचित भएर महासंघ अन्तर्गतको द्वि–राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमको अध्यक्षको जिम्मेवारी पाएर राम्रो सक्रियता देखाएका थिए । उनले धेरै राष्ट्रहरुसँगको व्यापार र नेपालको सम्बन्ध सुधार तथा सहकार्यको लागि महासंघको तर्फबाट लबिङ गरेका थिए ।
जाम्बियाको लागि वाणिज्य दूतसमेत भएर काम गरिसकेका बस्नेतले नेपालमा राम्रो व्यवशायिक वातावरण निर्माण गर्नको लागि भूमिका खेल्ने प्रतिबद्धताका साथ उम्मेदवारी घोषणा गरेका हुन् ।
‘निर्वाचित भएर गएपछि मैले मुलतः हाम्रो निर्वाचित अध्यक्ष र टिमले दिएको जिम्मेवारीअनुसारको काम गर्ने हो,’ उनले भने, ‘त्यसो गर्दै गर्दा म नेपालमा राम्रो व्यशायिक वातावरण बनाउन र व्यवशायिहरुका साझा मुद्धामा प्रतिबद्ध भएर लाग्नेछु ।’
उनले नेपालको औद्योगिक तथा व्यवशायिक विकासका धेरै सम्भावनाहरु रहेको बताउँदै त्यसको लागि सरकार, आम नागरिक, देश तथा विदेशका संघसंस्थाहरुसँग सहकार्य गरेर जानुपर्ने बताएका छन् ।
देशबन्धुले सञ्चालन गरेका व्यवशायका क्षेत्रहरु
देशबन्धु बस्नेत सुनसरीको इटहरीमा जन्मेर काठमाडौलाई कर्मथलो बनाएका युवा व्यवशायी हुन् । एबी होल्डिङ्स नामक कम्पनिका सञ्चालक बस्नेतले होटल तथा स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गर्दै लगेका छन् । काठमाडौ र इटहरीमा क्रमशः मक्र्युअर होटल र ग्राण्ड सेन्ट्रल होटल नामक दुई पाँच तारे होटल निर्माणाधिन छ ।
आउँदो वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यस्तै गोरखामा मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा होटल, इटहरीमा ईँटा उद्योगलगायत विभिन्न व्यवशाय सञ्चालन तथा निर्माणको क्रममा छन् ।
कम्पनिले शिक्षा, स्वास्थ्य, प्रविधि र ऊर्जाको क्षेत्रमा पनि रिसर्च गरी लगानी गर्नको लागि योजनाका साथ केहीमा हात हालिसकेको छ भने केहीमा तयारी थालेको छ ।
कम्पनिले विभिन्न अवसरका क्षेत्रमा लगानी गर्नको लागि एबी इन्भेस्टमेन्ट कम्पनि सञ्चालनमा ल्याएको छ भने पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्नको लागि एबी इन्फ्रा डेभलपर प्रालि सञ्चालन गरिरहेको छ । यो कम्पनिले आफै वा ज्वाइन्ट भेन्चरमा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने गर्छ ।
बस्नेत जाम्बियाका लागि वाणिज्य दूत बनेर अफ्रिकी देशहरुसँग सम्बन्ध विस्तार गर्ने र नेपालमा लगानी भित्राउने पहल गर्ने काममा समेत सक्रिय छन् ।
बस्नेतको प्यानलमा को को ?
आइतबार साँझ घोषणा गरिएको उमेशलाल श्रेष्ठ नेतृत्वको समुहबाट जिल्ला नगर उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य उम्मेदवार छन् ।
उम्मेदवारी घोषणा सभामा महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, मधेस प्रदेश निःवर्तमान अध्यक्ष गणेश लाठ, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादूर शाहीको समर्थन रहेको छ । उक्त कार्यक्रममा विशेष कारणले गर्दा लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्मा र सूदुर पश्चिम अध्यक्ष शंकर बोगटी भने उपस्थित हुन नसकेको बताइएको छ ।
उक्त घोषणा कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष विनोदबहादूर श्रेष्ठ, चण्डीराज ढकाल, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बर उपाध्यक्ष दिपक मलहोत्रा लगायतको उपस्थिती रहेको थियो ।


