महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरु आज चैत्र ३० गते एक कार्यक्रम बीच सम्सी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सामाग्रीहरुले अझ मद्दत गर्ने कुरा बताउनुभयो ।
“स्वास्थ्य उपचार सबैको मौलिक अधिकार हो ।” अध्यक्ष यादवले भन्नुभयो “हस्तान्तरण गरिएका सामाग्रीहरु गर्भवती महिला तथा बालबालिकाको जीवन रक्षाका लागि अधिकत्तम रुपमा प्रयोग गरिनेछ ।”
सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवाका लागि सम्सी गा.पा. स्थित एकमात्र बर्थिङ सेन्टर सम्सी प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य चौकीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको एकिकृत ग्रामिण विकास समाज, महोत्तरीका निवर्तमान सचिव उमेश न्यौपानेले जानकारी दिनुभयो ।
स्वास्थ्य संस्थाका लागि आवश्यक डेलिभरी सेट, विपी सेट, ट्रलि, अटोक्लेव, पेरिलाइट, डस्टविन लगायतका करिब ३ लाख रुपैयाँ बराबरका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
उक्त हस्तान्तरण कार्यक्रममा सम्सीगाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्र, स्वास्थ्य शाखा संयोजक संजय यादव, परियोजनाका पोषण कार्यक्रम अधिकृत भुपेन्द्र निरौला लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
यस अघि परियोजनाद्वारा सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा बेबी वार्मर, डेलिभरी बेड लगायतका सामाग्रीहरु समेत प्रदान गरिएको र डेलिभरी कक्षलाई रंगरोगन गर्ने योजना रहेको संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।


